सल्यान १९, माघ ।
कोभिड १९ महामारीको तेश्रो लहर बढेसँगै सल्यानमा ‘तपाईको मास्क खोई ?’अभियान सञ्चालन गरिएको छ । बजारमा मास्क नलगाई बिभिन्न कामको शिलशिलामा निस्किएका आम नागरिकहरुलाई मास्क लगाउन आग्रह गर्दै ‘तपाईको मास्क खोई ?’अभियान सञ्चालन गरिएको हो । तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि बिभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा आइतवार सदरमुकाम खलंगामा सुरु भएको ‘तपाईको मास्क खोई ?’अभियान मंगलबार जिल्लाको मुख्य व्यापारीक केन्द्र श्रीनगरमा सञ्चालन गरिएको हो ।
अभियानको क्रममा मास्क नलाएकाहरुलाई मास्क लगाउन र खोप नलगाएकाहरुलाई अनिवार्य खोप लगाउन र गाडीका यात्रुहरुलाई मास्क लगाउन आग्रह गरिएको छ । कोरोना भाइरसको महामारीबाट जोगिन खोप लगाउन तथा यात्रा गर्दा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो । जसअनुसार सचेतनामुलक ¥याली समेत निकालिएको थियो ।
जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, दलित विकास समाजद्धारा सञ्चालित सुआहारा कार्यक्रम, उद्योग बाणिज्य संघ, वजार व्यवस्थापन समिति र सल्यान जेसिस लगाएतको संयोजनमा अभियान सञ्चालन गरिएको हो । अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठ, दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकी, उद्योग बाणिज्य संघका प्रतिनिधिहरु, वजार व्यबस्थापनका प्रनिधिहरु, सल्यान जेसिसका अध्यक्ष नरेन्द्र बुढा साथै पत्रकार लगाएतको सहभागिता रहेको थियो ।