सल्यानमा नेपाल टेलिकमको फाइबर टु द होम सेवा शुरु

 

सल्यान २०, माघ ।
सल्यानमा नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लाको सदरमुकाम खलंगामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक संख्या पनि दिनहुँ बढ्दै जाने नेपाल टेलिकम सल्यानले जनाएको छ । जिल्लाको सदरमुकाम खलंगामा अधिवक्ता डम्बर वली एफटिटीएचको ग्राहक बनेर पहिलो पटक सेवा आरम्भ गरिएको हो ।

जिल्लाको सदरमुकाम खलंगाको पुरानो बसपार्क, डाँडागाउँ, ठण्डीसडक, साहुटोल, जिप्रका रोड लगाएतका स्थानमा उक्त सेवा जडान गर्ने कार्य शुरु गरिएको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम सल्यानले जनाएको छ । यतिमात्र नभई उक्त सेवाबाट टिभीसमेत चलाउन मिल्ने बनाइएको छ ।

यो सेवा कर्णाली प्रदेशको सुर्खेत, दैलेखसँगै हाल सल्यानमा पनि बिस्तार गरिएको हो । नेपाल टेलिकमले एफटिटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको नेपाल टेलिकम सल्यानका प्रमुख युद्ध बहादुर केसीले जानकारी दिनुभयो । ‘यो इन्टरनेटको क्षमता पनि अरुभन्दा छिटोछरितो छ, उच्च गतिको भाइवरबाट सञ्चालन हुने भएकाले ग्राहकलाई राम्रै फाइदा छ’ उहाँले भन्नुभयो । हाल जिल्लामा एक हजार २४ लाइन एफटिटीएच वितरण क्षमता रहेको उहाँको भनाइ छ ।

यस्तै प्रादेशिक निर्देशानलय कर्णाली प्रदेशका प्रमुख अनन्त मल्लिकले एफटिटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको बताउनुभयो । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि सेवा अपग्रेड गरी एफटिटीएच सेवा लिनसक्ने र यो आइपीमा आधारित सेवा भएको उहाँले बताउनुभयो ।

नेपाल टेलिकम सल्यानका लाइन म्यान लोकमान वलीले जिल्लाका प्रमुख वजार तथा घना बस्ती क्षेत्रमा समेत उक्त सेवा थप विस्तार गर्ने योजना रहेको बताउनुभयो । जिल्लामा यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आएको भए पनि अबदेखि जिल्लाका सबै ठाउँमा एफटिटीएच सेवा सञ्चालन हुने उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस