सल्यान २५, माघ ।
कोरोना संक्रमणका कारण बन्द भएका सल्यानका विद्यालय खुल्न थालेका छन् । सरकारले १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप लगाउन केही दिन विद्यालय खोल्ने निर्णय गरेको थियो । यही बहानामा जिल्लाका केही बिद्यालयहरुले विद्यार्थीलाई बोलाएर पढाउन थालिएका हुन् । जोखिम नटरिसकेको अवस्थामा विद्यालयमा विद्यार्थी मास्कसमेत नलगाई उपस्थित हुने गरेका छन् । तर केही बिद्यालयहरु भने खोल्ने वा नखोल्ने भन्ने बारेमा अन्यौलमै रहेका छन् ।
विद्यालयमा भौतिक दूरी कायम गरेर सहजीकरण गर्ने भनिए पनि एउटै बेन्चमा ४ जना भन्दा बढी विद्यार्थी राखेर पठनपाठन थालिएको छ । विद्यार्थी पोसाकमै स्कुल आउन थालेका छन् । विद्यालय खुला गरिए पनि शिक्षक तथा केही स्थानीय तहले खुलेर विद्यालय सञ्चालन गरिएको भन्न सकेका छैनन् । जिल्लाको कुमाख गाउँपालिकाले भने आइतवार देखी नै गाउँपालिकाका सबै बिद्यालयमा पठनपाठन सञ्चालन गरिरहेको छ । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिका भित्रका ४८ वटा बिद्यालयमा भौतिक उपस्थितीमा पठनपाठन भैरहेको छ ।
गाउँपालिकाको निर्णय वमोजिम नै आफुहरुले नियमित रुपमा बिद्यालय सञ्चालन गरेको बुद्ध जनकल्याण माद्यामिक बिद्यालय बडागाउँका प्रधानाध्यापक टेकम कुमारी शर्माले बताउनुभयो । ‘सरकारले तोकेका १२ बर्ष माथिका सबै बिद्यार्थीहरुले कोरोना बिरुद्धको खोप लगाएका छन्, स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन थालिएको छ’ उहाँले भन्नुभयो । यस बिद्यालयमा करिब ६ सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
एम.एम. एकेडेमी खलंगाले माघ १७ गते देखी नै विद्यार्थीलाई स्कुलमा बोलाएर सिकाइ सहजीकरण गरिरहेको छ । एकेडेमीका प्रिन्सिपल पुर्ण बहादुर बस्नेतले भौतिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी सिकाइ सहजीकरण गरिएको बताउनुभयो । ‘सरकारले खोपका लागि स्कुल खुलाउने भन्यो, हामीले खुलायौँ, जोखिमलाई ध्यानमा राखेर आवश्यक सर्तकता अपनाउदैँ सहजीकरण गरेका छौँ’ उहाँले भन्नुभयो ।
उहाँले दिउसोँ ३ बजेसम्म कक्षा सञ्चालन हुने गरी नर्सरी देखी कक्षा १० सम्मका बिद्यार्थीहरुको पठनपाठन थालिएको बताउनुभयो । ‘शिक्षक बिद्यार्थी सबैलाई बिद्यालयमा मास्क विना प्रवेश निषेध गरेका छौँ, बिद्यालयमा स्यानिटाइजर र साबुनपानीको व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो ‘कोभिड १९ को कुनै प्रभाव नदेखिएकाले पढाइ सञ्चालन गरेका हौँ ।’ यस एकेडेमीमा ३ सय ६० बढी बिद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् ।
त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङका प्रधानाध्यापक माधव बिक्रम जिसीले बिद्यालय सञ्चालन गर्ने बारेमा अन्यौलता रहेको बताउनुभयो । जिल्लाका केही बिद्यालय खुलिसकेका भएपनि सरकारले भौतिक उपस्थितीमा पठनपाठन सञ्चालन गर्ने निर्णय नगर्दा अन्यौलता भएको उहाँले बताउनुभयो । कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई वैकल्पिक माध्यमबाट सिकाइ सहजिकरण गरिरहेको भएपनि अरु कक्षाका लागि समस्या भएको उहाँको भनाइ छ ।
अनलाइन शिक्षण वैकल्पिक भए पनि सबैका घरमा इन्टरनेट र मोबाइल सुविधा नहुँदा प्रभावकारी बन्न नसकेको सरोकारवालाले बताउदैँ आएका छन् । तर जिल्ला प्रशासन कार्यालय सल्यानले भने माघ मसान्त सम्म भौतिक उपस्थितीमा बिद्यालय सञ्चालन नगर्न भन्दै सुचना नै जारी गरेको छ । तर जिल्लाका केही बिद्यालयले त्यसको पालना गरेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हतारमा निर्णय गरेर बिद्यालय सञ्चालन गर्दा अवस्था भयाभह आउनसक्ने भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । सरकारले नै माघ मसान्त सम्म भौतिक उपस्थितीमा पठनपाठन सञ्चालन नगर्ने निर्णय गरेकाले सोही अनुसार नै प्रशासनबाट सुचना जारी गरिएको बताउनुभयो । माघमसान्त पछि बिद्यालय खोल्नेबारेमा सिसिएमसिले सिफारिस गरिसकेकाले हतारमा बिद्यालय खोल्नुभन्दा केही दिन पर्खनु उपयुक्त हुने उहाँको भनाइ छ ।
जिल्लाभर प्रावि, निमावि र मावि गरेर ४ सय ४३ वटा सामुदायिक बिद्यालय रहेका छन् भने ५१ संस्थागत बिद्यालय रहेका छन् । यस्तै जिल्लाभर झण्डै ६५ हजारको हाराहारीमा बिद्यार्थी रहेका छन् ।