त्रिबेणी गाउँपालिकाद्धारा अनुदानमा हाते ट्याक्टर वितरण

सल्यान २६, माघ ।
सल्यानको त्रिबेणी गाउँपालिकाले कृषकहरुलाई मेशिनरी उपकरण वितरण गरेको छ । गाउँपालिका भित्र रहेका कृषकहरुलाई प्रविधि हस्तान्तरण गरेर व्यवसायिक बनाउने उद्धेश्यले पचास प्रतिशत अनुदानमा मेशिनरी उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जसअनुसार कृषि फर्महरुलाई हाते ट्याक्टर, कुटानी पिसानी मिल वितरण गरिएको छ ।

कृषकको पचास प्रतिशत लागत र गाउँपालिकाको पचास प्रतिशत अनुदानमा गरेर १५ वटा हाते ट्याक्टर कृषि फर्महरुलाई वितरण गरिएको छ । यस्तै कुटानी पिसानीको लागि ८ वटा स्माल मल्टिप्रपोज मिल पनि वितरण गरिएको छ । कृषकहरुलाई प्रोत्साहन गर्न गाउँपालिकाले विनियोजन गरेको रकमबाट व्यक्तिगत कृषि फर्म, कृषक समुह र कृषि सहकारीलाई मेसनरी सामग्री बितरण गरिएको कृषि विकास शाखाका कृषि अधिकृत अमरसिंह बबालले जानकारी दिनुभयो ।

उहाँले ११ लाख २५ हजारको कुल लागतमा हाते ट्याक्टर खरिद गरेर वितरण गरिएको बताउनुभयो । हाते ट्याक्टर पाउनेमा त्रिबेणी गाउँपालिका वडा नम्बर १ मा रहेको दुर्गा भवानी सामाजिक उद्यमी सहकारी संस्था, तल्लो काभ्रा कृषक समुह, मिलनचोक कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर २ मा रहेको छहरेखोला कृषक समुह, वडा नम्बर ३ मा रहेको बोहरा कृषि तथा पशुपंक्षि फर्म, राणा कृषि तथा पशुपंक्षि फर्म रहेका छन् ।

यस्तै वडा नम्बर ४ मा रहेको गौरीदिदी बाख्रापालन फर्म, कालिका कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ६ मा रहेको लोक कृषि तथा पशुपंक्षि फर्म, रेउले कुखुरा फर्म, सरस्वती कृषि तथा पशुपंक्षि फर्म, त्रिबेणी साना किसान कृषि सहकारी र शिव पार्वति एकिकृत कृषक समुह रहेका छन् ।

यस्तै गाउँपालिका भित्रका व्यक्तिगत कृषि फर्महरुलाई व्यवसाय बृद्धि र व्यक्तिगत प्रयोजनका लागि ८ वटा स्माल मल्टिप्रपोज मिल हस्तान्तरण गरिएको छ । कृषकहरुबाट आएका प्रस्तावनाहरुका आधारमा स्थलगत निरिक्षण गरि प्राविधिक रिपोर्टका आधारमा कृषि विकास समितीको छनौटका आधारमा ती सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

सो अवशरमा गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले कृषकहरुलाई कृषि पेशामा आकृर्षित गर्दै व्यवसायिक बनाउने उद्धेश्यका साथ ती सामाग्री वितरण गरिएको बताउनुभयो । यसले कृषकहरुको समय बचत सँगै लागत कम गर्दै जाने र उत्पादनमा बृद्धि हुने उहाँको भनाइ छ । सामाग्री वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का, कृषि विकास शाखा प्रमुख लक्ष्मी चन्द बबाल लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस