सल्यान २८, माघ ।
सल्यानमा २७ हजार बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाका दश वटै स्थानिय तहमा गरेर २७ हजार ६ सय ४९ मतदाता थपिएका हुन् । २०७४ सालको निर्वाचन पश्चात जिल्लाभर धेरै मतदाता थपिएको कार्यालयले जनाएको छ । २०७४ सालको निर्वाचनमा जिल्लाभर १ लाख ३४ हजार २ सय १३ जना मतदाता रहेका थिए । तर माघ २४ गते सम्मको तथ्यांक अनुसार जिल्लामा मतदाताहरुको संख्या १ लाख ६१ हजार ८ सय ६२ पुगेको छ ।
यो तथ्यांक १६ बर्ष पुरा भएर फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेकाहरुको संख्या भएकाले जिल्लाका मतदाताहरुको संख्या घट्ने कार्यालयले जनाएको छ । कार्यालयले निर्वाचन लक्षित गरेर केही महिना अघि जिल्लाका दशवटै पालिकामा पुगेर फोटो सहितको मतदाता नामावली संकलन गरिएको थियो । अहिले मतदाता नामावली संकलनको काम बन्द भएको छ ।
जिल्लामा हालसम्म १ लाख ६२ हजार १ सय ३६ जनाको नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार ३ सय ३ जनाले बाहिरी जिल्लामा बसाईसराई गरेर गएका छन् भने ३ सय ६० जनाको मतदाता नामावलीमा दोहोरोपना देखिएको छ । यस्तै ८९ जना बिभिन्न जिल्लाहरुबाट गरेर सल्यानमा बसाईँसराई गरेर आएका छन् ।
‘जिल्लामा मतदाता नामावलीमा दोहोरोपना धेरै देखिएको छ, कसैले मतदाता नामावली वनाएर हराएको, कसैले बनाएको बारेमा याद नै नगरेको, कसैले १८ बर्ष उमेर नपुगेका कारण मतदान गर्न नपाएको तर मतदाता नामावली हराएको भनेर नयाँ दर्ता गर्नेहरुको संख्या उल्लेख्य देखिएको छ’ उहाँले भन्नुभयो ‘मतदाता नामावलीमा दोहोरोपना नआओस भनेर हामीले तथ्यांक रुजु गर्ने काम गरिरहेका छौँ ।’
सुचना अधिकारी चन्दले मतदाताहरुको यो संख्या प्रारम्भिक रहेको र केहि तलमाथी हुनसक्ने बताउनुभयो । अन्य जिल्लाबाट नामसारी गरेर आउने, १८ बर्ष मुनिका, दोहोरो नाम परेका, अन्यत्र नामसारी गरेकाहरुको विवरण प्रविष्ट गरेर निर्वाचन आयोगबाट नै आउने उहाँले जानकारी दिनुभयो । यसैविच जिल्ला निर्वाचन कार्यालय सल्यानले आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको तयारी शुरु गरिएको जनाएको छ ।