सल्यान ५, फागुन ।
सुचना लिनेदिने कार्यलाई चुस्तदुरुस्त बनाइनुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले सरकारी कार्यालयबाट प्रदान गरिने हरेक सुचनालाई चुस्तदुरुस्त बनाउनुपर्ने बताउदैँ नागरिकले बुझ्ने गरेर सुचना प्रवाह गरिनुपर्ने बताएका हुुन् । जिल्ला प्रशासन कार्यालय सल्यानमा बुधबार आयोजित जिल्लाका सरकारी कार्यालय र पत्रकारहरुका बिचको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
उनीहरुले सार्वजनिक चासोको बिषयमा सुचना पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले आमनागरिक वा पत्रकारले मागेको सुचना लुकाउन नहुने बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सूचना दिने र लिने दुवैले बुझिने भाषाको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । हरेक नागरिकले मागेको सार्वजनिक चासोको बिषयको सुचना अनिवार्य दिनुपर्ने र सुचना प्रवाहको लागि स्थानीय सञ्चार माध्यमको भरपुर उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जिल्लामा सुचना दिने र लिने दुबै प्रचलनलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, जिल्लामा रहेको सरकारी कार्यालयका सुचना अधिकारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।