सल्यानमा यस बर्ष सुन्तला उत्पादनमा ह्रास

 

सल्यान ५, फागुन ।

सल्यानमा बर्षेनी सुन्तला उत्पादनमा ह्रास आउन थालेको छ । जिल्लाको कोटमौला, कोटबारा, दमाचौर, लेखपोखरा, चाँदे, फलावांङ्ग, सेजवालटाकुरा लगाएतका स्थानमा सुन्तला खेती गरिदैँ आएको भएपनि जिल्लामा बर्षेनी सुन्तला उत्पादनमा ह्रास आउन थालेको हो । सुन्तलाको बोट सुक्दै जाने र कम फल्ने गरेका कारण जिल्लामा सुन्तला उत्पादनमा ह्रास आउन थालेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार विगत तीन बर्षको तथ्यांकलाई हेर्दा जिल्लामा झण्डै ३८ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको छ । यस्तै गत बर्षको भन्दा यो बर्ष ८ प्रतिशतले उत्पादनमा कमी आएको कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर ९ सय ८० हेक्टर उत्पादनशिल क्षेत्रमा लगाइएको सुन्तलाको बोटबाट १० हजार ६ सय ९० मेट्रिकटन सुन्तदा उत्पादन भएको थियो ।

यस्तै गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाभर ९ सय ८० हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट ७ हजार ४ सय ८३ मेट्रिकटन मात्रै उत्पादन भयो भने यस आर्थिक बर्ष २०७८/०७९ मा जिल्लाभर ९ सय ८० हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट ६ हजार ८ सय ८५ मेट्रिकटन मात्रै उत्पादन भएको छ । यसरी हेर्दा जिल्लामा बर्षेनी उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।

जिल्लाभर एक सय बढी फल दिने सुन्तलाका बोट भएका किसानको संख्या ७ सय ५० रहेको छ । तर जिल्लाका किसानहरुले रोपेका सुन्तलाका बोटहरु सुक्ने समस्या झन् बिकराल बन्दै गएको छ । जसका कारण सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आएका किसानहरु निरास बनेका छन् । मुख्यतः सुन्तलाको बोटमा ग्रिनिङ भाइरस देखा परेपछि उत्पादन घट्दै गएको हो ।

‘ग्रिनिङ भाइरसले सुन्तलाको जरा मर्ने, पात पहेँलो हुदैँ झर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या आउने गरेको छ’ उहाँले भन्नुभयो ‘यससँगै सुन्तलाको गोडमेल, जलवायु परिवर्तन लगाएतका कारणले पनि उत्पादनमा कमी आएको छ ।’ उहाँले जलवायु परिवर्तका कारण तापक्रम बढ्दै जादाँ जिल्लाको तल्लो भेगका किसानले रोपेका सुन्तलाका बोटहरु पनि सुक्दै जानथालेको बताउनुभयो ।

उहाँका अनुसार यहाँ उत्पादन भएको सुन्तलाको करिब ६५ प्रतिशत सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । जसमा करिब ४ हजार ४ सय ७५ मेट्रिकटन सुन्तला जिल्ला बाहिर निर्यात भएका छन् । यसबाट जिल्लामा करिब २५ करोड ५० लाख रुपैयाँ भित्रिएको अनुमान गरिएको छ । जिल्लाका किसानले व्यापारीलाई सरदरमा ५७ रुपैँया प्रतिकेजीमा सुन्तला बिक्री गरेका छन् ।

जिल्लामा चिस्यान केन्द्र नहुदाँ किसानहरुले बोटबाटै सुन्तला बेचेका छन् । सुन्तला टिपेर भण्डारण गर्ने र केही महिनापछि बिक्री गर्दा सुन्तलाले वजार मुल्य राम्रो पाउने भएपनि चिस्यान केन्द्र नहुदाँ जिल्लाका किसानहरुले बोटबाटै सुन्तला टिपेर व्यापारीहरुलाई बेच्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा चिस्यान केन्द्र निर्माणका लागि बेला बेलामा आवाज उठ्ने गरेको छ तैपनि सरोकारवाला निकायहरुको बेवास्ताका कारण किसानले उत्पादन गरेको सुन्तला तत्कालै बेच्नुपर्ने बाध्यता छ ।

 

 

प्रतिक्रिया दिनुहोस