सल्यान १४, फागुन ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी तीन दिने अभिमुखिकरण तालिम सल्यानको बागचौरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले नगरका १२ वटै वडामा अनलाइन प्रणाली मार्फत सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता करिव एक बर्ष अगाडि नै सुरु भएको र पञ्जिकरण क्षेत्रमा अहिले नगर भित्रका जनताहरुको काम छिटो र छरितो भएकाले सबैलाई सहज भएको बताउनुभएको छ ।
पञ्जिकरणको काम सामान्य छैन तर अहिले बागचौर नगरपालिकामा बिस्तारै पञ्जिकरणको काम विधि र सिस्टममा भएको छ । म गर्वका साथ भन्छु पञ्जिकरण क्षेत्रमा सल्यान जिल्लामै उत्कृष्ट काम बागचौरमा भएको छ । पञ्जिकरण शाखामा कार्यरत कर्मचारीहरु, वडा सचिवहरु र पञ्जिकाधिकारीहरुले नमुना योग्य काम गर्नुभएको छ उहाँले भन्नुभयो ।
कार्यक्रमको पहिलो दिन ईलाका प्रशासन कार्यालय बागचौरका प्रमुख मोहन डिसी र शिक्षा शाखा प्रमुख टेक बहादुर डिसीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल, योजना शाखा प्रमुख पुर्ण वली, बागचौर नगरपालिकाकाका सह लेखापाल वसन्त लामिछाने, बागचौर नगरपालिकाका सूचना अधिकृत तिर्थराज डाँगी, नगरपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारी लगायत बागचौर नगरपालिकाका भित्रका विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियोे ।
बागचौर नगरपालिकाका १२ वटै वडाका वडा सचिव र पञ्जिकाधिकारीहरुका लागि सुरु गरिएको तालिम ३ दिन सम्म चलेको थियो । तालिममा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी वडा सचिव र पञ्जिकाधिकारीहरुलाई ३ दिन सम्म प्रशिक्षण दिएको थियो । सल्यानको बागचौर नगरपालिका सेवा इकाई बागचौरमा रहेको पञ्जिकरण शाखामा कार्यरत एम.आई.एस अपरेटरहरु धनेश्वर खड्का, खुमराज घर्ती मगर र फिल्ड सहायक बामदेव केसीले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो ।
नगर प्रमुख बुढाथोकीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तब्य एमआईएस अपरेटर खुमराज घर्ती मगरले राख्नुभएको थियो भने उक्त कार्यक्रम संचालन फिल्ड सहायक बामदेव केसीले गर्नुभएको थियो ।