सल्यान १५, फागुन ।
सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर ६ स्थित भुम्केज्युलामा रहेको पशुपति आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत विजय केसीको घरमा सानो पुस्तकालयकुना छ । केसीले बिद्यालय समय बाहेक अन्य समयमा घरमा रहदाँ र बिदाको दिनमा त्यही पुस्तकालयबाट पुस्तक छानेर पढ्नुहुन्छ । उहाँले आफ्नो घरको पुस्तकालयमा १५ वटा भन्दा धेरै पुस्तक र अभ्यास पुस्तिका भएको बताउनुहुन्छ ।
यस्तै सोही गाउँपालिकाको वडा नम्बर १ मा रहेको महेन्द्र आधारभूत बिद्यालयमा कक्षा २ मा अध्ययनरत बिबश बिकको घरमा पनि सानो पुस्तकालयकुना छ । ‘घरको एउटा कोठामा पुस्तकालय छ, पुस्तक पढ्न मन लागेको बेला त्यहीबाट निकालेर पढ्छु’ उहाँ भन्नुहुन्छ ‘पुस्तकालयमा बाल कथा, बाल गित, चित्र पुस्तक, अभ्यास पुस्तिका सबै छन्, आफुलाई मन लागेको पढ्न र लेख्न पाइन्छ ।’
यी दुइ बिद्यार्थी त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ, अहिले सल्यानका १ हजार ९ सय ८६ जना बालबालिकाहरुको घरमा पढ्ने सानो पुस्तकालयकुना निर्माण गरिएको छ भने उनीहरुले त्यही पुस्तकालयबाट आफुलाई मन परेको पुस्तक रोजेर पढ्दै आएका छन् । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग र दलित विकास समाज सल्यानको सहकार्यमा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ५४ वटा सामुदायिक बिद्यालयमा अध्ययनरत कक्षा १ र २ का बालबालिकाहरुको घर घरमा पढाई सहजीकरणका लागि पुस्तकालयकुना स्थापना गरिएको हो ।
बिद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन घरमा पढ्नको लागि बालकथा, कथा कार्ड, चित्रकोर्ने पुस्तक, पेन्सिल, कलर पेन्सिल, अभ्यास पुस्तिका, सामग्रीहरु राख्नहाते झोला सहित सामग्रीहरु उपलब्ध गराईको छ । बिद्यार्थीहरुले घरका पुस्तकालयकुनामा राखिएका पुस्तकहरु पढेर सुनाउने, मन परेका चित्रहरु वनाउने, घरमा पढ्ने वातावरणको सहज भैई सिकाईलाई निरन्तरता दिएको एक अभिभावक भेषराज केसीले बताउनुभयो । ‘कोरोनाले शैक्षिक क्षेत्र प्रभावित भएको अवस्थामा पनि बिद्यार्थीले पढ्नमा रुचि बढाएको देखेर खुसी लाग्छ’ उहाँ भन्नुहुन्छ ‘खाली समय भयो भने पुस्तकालयकुनामा पढ्न, लेख्न ब्यस्त हुन्छन् ।’
पशुपति आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञान वहादुर वलीले बिद्यार्थीहरुका घरैमा निर्माण गरिएका पुस्तकालयकुनाले उनीहरुको सिकाई सहजीकरणमा थप सहयोग गरिरहेको र बालबालिकाका अभिभावकहरुलाई पनि ती सामग्रीहरुको प्रयोग र सिकाइमा सहयोग गर्न अनुरोध गरिएको बताउनुभयो । ‘पहिले बिद्यालयको पुस्तकालयमा रहेका पुस्तकहरु लिएर पढ्ने र पछि फिर्ता गर्नुपथ्र्यो तर कक्षा १ र २ का बालबालिकाहरुलाई घरमा तयार गरिएको सानो पुस्तकालयका पुस्तकहरु फिर्ता गर्नुपर्दैन’ उहाँले भन्नुभयो ‘अहिले बिद्यार्थीहरुमा पढ्नको लागि थप हौसला प्राप्त भएको छ ।’
प्राथामिक तहका बालबालिकाहरुको पठन सीप र पढ्ने बानीको विकास गराउनको लागि बिद्यार्थीका घरमा तयार पारिएका साना पुस्तकालयकुनाले महत्वपुर्ण भूमिका खेलेको साक्षरता कार्यक्रमका अधिकृत बाबुराम पोख्रेलले बताउनुभयो । हरेक बालबालिकाहरुलाई घरमा पढ्न मिल्ने सिकाईमुलक सामग्रीहरु उपलव्ध गराइएको र यसबाट बालबालिका उत्साहित भएको साक्षरता कार्यक्रम सहजकर्ता अनिता वलीले बताउनुभयो ।
साक्षरता कार्यक्रम जिल्लाको कुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका, सिद्धकुमाख गाउँपालिका र बागचौर नगरपालिकामा सञ्चालन भैरहेको छ ।