सल्यान १६, फागुन ।
सल्यानमा स्थानिय तह निर्वाचनयको तयारी तिव्र पारिएको छ । सरकारले ३० बैशाख २०७९ मा स्थानिय तहको निर्वाचनको मिती घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय सल्यानले पनि निर्वाचनको तयारी तिव्र पारेको जनाएको छ । अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको, मतदाता परिचय पत्र प्रतिलिपिको प्रक्रिया अगाडी बढेको र मतदाता नामावली अद्यावधिक दावी विरोध कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको कार्यालयको भनाइ छ ।
मतदाता नामावली शुद्धीकरण तथा अध्यवधिकका लागि वडाहरुमा मतदाताहरुको विवरण पठाइएको कार्यालयले जनाएको छ । कार्यालयका सुचना अधिकारी तेजेन्द्र कुमार चन्द्रले मतदाता नामावली अद्यावधिक सँगै मतदाता परिचयपत्र हराएमा वा च्यातिएमा वा नष्ट भएको हकमा कार्यालयमा आएर नयाँ मतदाता परिचयपत्र लिनको लागि निवेदन दिन सकिने बताउनुभयो । उहाँले यही फागुन २० गते सम्म सम्बन्धित वडाको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जानकारी दिनुभयो ।
यस्तै मतदाता नामावली अद्यावधिक दावी विरोध कार्यक्रम यही फागुन २० गते देखी २६ गते सम्म सञ्चालन गरिने छ । फोटो सहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न, मतदाता नामावलीमा रहेको दोहोपन वा त्रुटि हटाउन र मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्न दावी विरोधको कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा हाल १ लाख ५८ हजार ८ सय ७० मतदाता रहेका छन् । जसमा पुरुष ८० हजार ४ सय ६४ र महिला ७४ हजार ४ सय ६ मतदाता रहेका छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा जिल्लाभर १ लाख २५ हजार २ सय ५६ मतदाता रहेका थिए । झण्डैँ पाँच बर्षको अवधिमा जिल्लामा ३६ हजार ६ सय १४ मतदाता बढेका छन् ।
यस्तै जिल्लामा थप तीन वटा मतदान स्थल थप गरिएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाभर १ सय ११ मतदान स्थल रहेकोमा यसपटक भने कालिमाटी गाउँपालिकामा १, त्रिवेणी गाउँपालिकामा १ र छत्रेश्वरी गाउँपालिकामा १ गरी तीन वटा मतदान स्थल थपिएको कार्यालयले जनाएको छ । यस्तै २२ वटा थप मतदान केन्द्र थप गरेर २ सय २ कायम गरिएको छ ।
यसैविच मतदाता नामावली अद्यावधि (दावी बिरोध समेत) कार्यक्रम २०७८ कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम आइतवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा निमित्त जिल्ला निर्वाचन अधिकारी नन्दराम जैसीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो भने सुचना अधिकारी तेजेन्द्र कुमार चन्द्रले जिल्ला निर्वाचन कार्यालयले सम्पादन गरेका काम र आगामी योजनाका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण हिमाल बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानिय तहका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत, पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।