एउटा डाक्टरको भरमा जिल्ला अस्पताल सल्यान

उपचार नपाएरै फर्किन बिरामी बाध्य

सल्यान १८, फागुन ।

जिल्ला अस्पताल सल्यान एक जना डाक्टरको भरमा सञ्चालन हुदैँ आएको छ । अस्पतालमा कार्यरत केही डाक्टर जागिर छोडेर गएको, केही सरुवा भएर गएको र केही अध्ययन विदामा रहदा १५ शैयाको जिल्ला अस्पताल अहिले एउटा डाक्टरको भरमा सञ्चालन हुदैँ आएको हो । जसका कारण दैनिक रुपमा १ सय ५० बढी उपचारको लागि आउने बिरामीहरुले सास्ती पाउने गरेका छन् ।

एउटा मात्रै डाक्टरले ओपिडि, इर्मेजेन्सी, वार्ड, अप्रेसन लगाएतका क्षेत्रमा काम गर्दा समस्या भएको छ । जसका कारण सामान्य चेकजाँचको लागि पनि घण्टौँ कुर्नुपर्ने बिरामीहरुको बाध्यता रहेको छ । केही बिरामीहरु भने उपचार नगरेरै फर्किने गरेका छन् । अहिले जिल्ला अस्पतालमा आएका अधिंकाश बिरामीहरु निजी मेडिकलहरुमा गएर उपचार सेवा लिन बाध्य भएका छन् भने केही जिल्ला बाहिर जाने गरेका छन् ।

यस्तै जटिल समस्या भएका, अप्रेसन गर्नुपर्ने लगाएतका बिरामीहरुलाई पनि नेपालगन्ज, सुर्खेत, दाङमा रिफर गर्नुपर्ने बाध्यता भएको अस्पताल स्रोतको भनाइ छ । केही समय पहिलेसम्म अस्पतालबाट प्रदान गरिने सबै सेवाहरुलाई नियमित बनाएको अस्पतालले हाल आएर बिरामीहरुले उपचार कै लागि भौतारिनुपर्ने बाध्यता बनेको छ ।

बागचौर नगरपालिका १२ बाफुखोलाकी सुशिला कुमारी वलीले अस्पतालमा डाक्टर नहुदाँ समस्या भएको बताउनुभयो । ‘म गर्भवती हुँ, स्वास्थ्यकर्मीले दिएको डेटलाईन अनुसार सुत्केरी हुनको लागि जिल्ला अस्पतालमा आएको हुँ, तर यहाँ डाक्टर नहुदाँ कहाँ जाने ? भन्ने समस्या भयो’ उहाँले भन्नुभयो ‘बाहिर जानलाई पैसा नहुदाँ समस्या भएको छ ।’

अस्पतालमा कार्यरत धेरै डाक्टरहरुले एकैपटक सेवा छोडेर गएपछि समस्या भएको अस्पताल स्रोतको भनाइ छ । डा. संकेत विश्वकर्मा सरुवा भएर, डा. असिम प्रजापती र डा. पुजा सुवेधि जागिरी छोडेर, डा. अभिक बुढा मगर पढाइ बिदामा र डा. दिपेन्द्र राय तालिमको लागि जिल्ला बाहिर गएकाले समस्या भएको हो । हाल एमडीजीपी डा. अभिषेक सिंह एक्लै अस्पतालमा रहदा सेवा प्रवाहमा समस्या भएको छ ।

अस्पतालमा आएका सयौँ बिरामीहरुलाई एक्लै सेवा प्रवाह गर्न समस्या भएको डा. सिंहले बताउनुभयो । ‘एक्लै काम गर्न समस्या भएको छ, ओपिडि, वार्ड, इर्मेजेन्सी, अप्रेशन, एक्सरे सबै एक्लै गर्न गाह्रो भएको छ, बिरामीहरुको चाप धेरै छ, कतिपयलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘कतिपयलाई परामर्श प्रदान गरेर फर्काइएको छ ।’

अस्पतालमा आएका बिरामीको चाप धेरै भएकाले दिनरात काम गर्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । ‘एकै पटक धेरै डाक्टरहरु जानुभयो तर आजभोली नै नयाँ डाक्टर आउने बारेमा केही जानकारी छैन्, प्रदेश सरकारसँग समन्वय भैरहेको माथिल्लो निकायले भन्छ’ उहाँले भन्नुभयो ‘डाक्टर कहिले आउने निश्चित छैन्, यहाँ आएका बिरामीहरुलाई यही निको बनाएर पठाउनुपर्ने हाम्रो दायित्व हो, तर जनशक्ति नहुदाँ रिफर गर्नुपर्ने बाध्यता छ ।’

विगतमा पनि स्टाफ नर्स लगाएत दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुदाँ समस्या भएको अस्पतालमा अहिले झन् समस्या थपिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले यसैहप्ता भित्रमा अस्पतालमा नयाँ डाक्टर आउने बताउनुभएको छ । प्रदेश सरकारसँग ४ जना डाक्टरको माग गरिएको र यसैहप्ता २ जना डाक्टर पठाउने उहाँको भनाइ छ । प्रदेशले थप डाक्टर केही समय पछि पठाउने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस