सल्यान २२, फागुन ।
सल्यानको शारदा नगरपालिकामा रहेको खलंगा शितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । शारदा नगरपालिका आज आइतवार अर्को व्यवस्था नभएसम्मका लागि निर्वाचनका सबै प्रक्रिया स्थगित गर्न आदेश दिएपछि निर्वाचन मण्डलको कार्यालयले निर्वाचनका सबै काम स्थगित गरेको हो ।
निर्वाचन संयोजक चन्द्र प्रकाश वलीका अनुसार आइतवार आज उम्मेदवारी मनोनयन गर्ने मिती तोकिएको थियो भने फागुन २८ गते बिहान ८ बजेदेखी बेलुका ५ सम्म मतदानको समय तोकिएको थियो । तर नगरपालिकाले कोभिड १९ को महामारी प्रकोपको कारण २५ जना भन्दा धेरै भेला नगर्ने नेपाल सरकारको निर्णय बमोजिम भन्दै तत्काल निर्वाचनका सबै प्रक्रिया स्थगित गर्न आदेश दिनुभएको हो । नगरपालिकाको आदेश पछि खानेपानीको निर्वाचन अनिश्चित बनेको छ ।
यसैविच सल्यानका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जिल्लामा कोरोनाको जोखिम कम हुदैँ गएकाले जिल्ला प्रशासन कार्यालयले यसअघि लगाएका सबै प्रतिवन्ध हटाएको जानकारी दिनुभयो । यसअघि भिडभाडजन्य कार्यमा रोक लगाइएकोमा अहिले कोरोनाको जोखिम कम भएकाले ती सबै कार्यमाथि लगाएको प्रतिवन्ध हटाएको आज जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।