सल्यान २५, फागुन ।
सल्यानमा रहेका सरकारी कार्यालयका उजुरी तथा सुझाव पेटिका बेकामे बनेका छन् । सेवाग्राहीका उजुरी तथा गुनासो र सुझाव पत्र राख्नका लागि राखिएका कार्यालयका पेटिकाहरू हिजोआज बेकामे बनेका हुन् । जिल्लाका अधिकांश सरकारी कार्यालयमा सुझाव पेटिका र उजुरी पेटिका लेखिएका बाकस झुण्डिएका छन् । तर प्रायः सबै कार्यालयका ति पेटिका नखोलेको वर्षौ भईसक्यो । अधिकांश पेटिका भित्र माकुराको जालो र बारुलाको चाकासम्म भेटिने गरेको छ ।
नागरिकको चाप बढि हुने जिल्ला मालपोत कार्यालय, नापि कार्यालय, जिल्ला अस्पताल, बिद्युत् कार्यालय सबैतिर उजुरी र गुनासो नभएका होइनन् । तर सेवाग्राहीले गुनासो गरे पनि त्यसको कार्यान्वयन नै हुदैन । संम्बन्धित निकाय सेवाग्राहीको कामप्रति संवेदनशील नबन्दा उजुरी तथा सुझाव पेटिका भरिभराउ हुनुपर्ने हो । तर गुनासा र सुझावको समेत सम्वोधन नहुने भएपछि त्यसतर्फ पनि सेवाग्राही अन इच्छुक देखिएका छन् ।
कालिमाटी गाउँपालिका १ का तुलसीराम रावतले उजुरी तथा सुझाव पेटिकामा राखेका पत्रहरु महिनौँ सम्म पनि खोल्ने चलन नभएको र तत्काल गुणासोको सम्बोदन नहुनेभएकाले त्यसतर्फ नागरिक बेखबर बनेको बताउनुभयो । ‘प्रविधिको पहुँचमा भएका र कार्यालय प्रमुखसँग सम्पर्क भएकाहरुले मौखिक वा फोनबाट गुणासो राख्ने गरेका छन्’ उहाँ भन्नुहुन्छ ‘गाउँघरमा बस्ने नागरिकको माथिल्लो निकाय सम्म पहुँच हुदैँन, पत्र मार्फत राखेको गुणासाको तत्काल सम्बोधन हुदैन् ।’
सेवाग्राहीहरुको सहजताका लागि बनाइएका ती पेटिकामा सेवाग्राहीले गुनासो र सुझाव लेखेर खसाल्ने चलन पुरानो भइसकेको कतिपयको भनाइ छ । पछिल्लो समय सूचना प्रविधिको विकास र नागरिकमा चेतनाको वृद्धिकै कारण सुझाव पेटिका प्रयोगबिहिन हुने गरेको कार्यालयहरु बताउँछन् । तर कतिपय कार्यालयमा सेवाग्राहीले राखेका गुनासो सम्बोधन गर्ने संयन्त्र नहुनु तथा गोपनियता भंग हुने डरले पनि उजुरी नपर्ने गरेको पाईन्छ ।
नापी कार्यालय सल्यानका सुचना अधिकारी सुरेश खड्काले पछिल्लो समय कार्यालयमा राखिएको सुझाव पेटिका प्रयोगविहीन बनेको बताउनुभएको छ । विगत केही बर्षयता सुझाव पेटिकामा सुझाव पत्र आउनैँ छोडेको उहाँको भनाइ छ । ‘लिखित रुपमा गुणासो वा सुझाव आउदैँनन्, फोनबाट वा प्रत्यक्ष भेटेर सुझाव वा गुणासो राख्नुहुन्छ, हामीले पनि तत्कालै सम्बोधन गर्छौ’ उहाँले भन्नुभयो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले पनि कार्यालयमा रहेको सुझाव पेटिकामा गुणासो वा सुझाव पत्र नआउने गरेको बताउनुभयो । ‘सरकारी कामको पारदर्शीताको लागि उजुरी तथा सुझाव पेटिकाको महत्व भएपनि सेवाग्राहीलाई यसको महत्वका बारेमा खासै जानकारी नभएकाले पेटिका खाली झुण्डिएका छन्, बेला बेलामा खोलेर हेर्ने गर्छौ तर खाली नै हुन्छन्’ उहाँले भन्नुभयो ।
सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ मा प्रत्येक सरकारी कार्यालयहरुमा सेवाग्राहीको गुनासो सुन्नका लागि सुझाव पेटिका राख्नुपर्ने स्पष्ट ब्यवस्था छ । तर सेवाग्राहीले राखेका गुनासो सम्बोधन गर्ने संयन्त्र नहुनु तथा गोपनीयता भङ्ग हुने डरले पनि उजुरी वा गुणासो नपर्ने गरेको सरोकारवालाहरु बताउँछन् । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले प्रविधिको प्रयोगसँगै नागरिकहरुले सुचना प्राप्त गर्नको लागि विकल्पको रुपमा प्रविधिको प्रयोग गर्दा लिखित पत्र पेटिकामा नआउने गरेको बताउनुभयो ।
‘सरकारी कार्यालयहरूमा कामकारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्ती लगायतको बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस भनी उजुरी पेटिका वा गुनासो पेटिका राखिएको हो’ उहाँले भन्नुभयो ‘पछिल्लो समय नागरिकहरुले मौखिक रुपमा वा फोनबाट नै गुणासो राख्नेगर्नुहुन्छ ।’ उहाँले सार्वजनिक चासोका बिषयमा नागरिकले राखेका हरेक उजुरी वा गुणासोको तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।