श्रीनगरमा निर्माण गर्ने भनिएको आधुनिक बसपार्कको योजना अलपत्र

लकडाउनले ढिला भयो, अब तत्काल कामको थालनी गर्छौ : मेयर अधिकारी

सल्यान २७, फागुन ।
सल्यानको शारदा नगरपालिकाले निर्माण गर्ने भनेको आधुनिक बसपार्कको योजना अलपत्र परेको छ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र शारदा नगरपालिका –१ श्रीनगरमा रहेको पुरानो बसपार्कलाई व्यवस्थित र आधुनिक बसपार्क बनाउने नगरपालिकाकै योजना अलपत्र परेको हो । २०७६ सालमा नगरपालिकाले नै पुरानो बसपार्कलाई हटाएर व्यवस्थित र आधुनिक बसपार्क बनाउने महत्वांक्षी योजना अघि सारेको थियो ।

तर झण्डै २ बर्ष बितिसक्दा समेत नगरपालिकाले नत बसपार्कलाई व्यवस्थित बनाउन सकेको छ, नत योजनालाई कार्यान्वयनको चरणमा नै लगेको छ । बसपार्क निर्माणका लागि नगरपालिकाले डिपिआर समेत गरिसकेको जनाएको छ । बसपार्क आसपासमा रहेको ऐलानी जग्गामा बनाइएका घरटहरा हटाएर बसपार्क निर्माण गर्ने नगरपालिकाको योजना छ ।

यसकै लागि २०७६ साल पुस २४ गते बसेको नगरकार्यपालिकाको बैठकले बसपार्क क्षेत्रमा ऐलानी जग्गामा निर्माण भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय ग¥यो । जसका लागि १५ दिनभित्र त्यसक्षेत्रको ऐलानी जग्गामा निर्माण गरिएका सबै संरचना हटाउन सुचना नै जारी भयो । संरचना हटाउन अटेर गरेको पाइएमा नगरपालिका आफैँले आफ्नै स्रोतसाधनको प्रयोग गरेर ऐलानी जग्गामा निर्माण गरिएका संरचना हटाउने गरी सुचना जारी गरिएको थियो ।

स्रोतका अनुसार त्यस आसपासको क्षेत्रमा करिब ८७ रोपनी जग्गा ऐलानी रहेको जनाइएको छ । तर नगरपालिकाले ऐलानी जग्गा अतिक्रमण रोकेर व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्न पहल थालेको लामो समय भैसक्दा समेत कामले पुर्णता पाउन सकेको छैन् । नगरपालिकाले व्यवस्थित वसपार्क निर्माण गर्ने भनेर आश्वासन मात्रै बाँडेको र काम गर्न नसकेको एक स्थानियले बताए ।

‘बसपार्क क्षेत्र अव्यवस्थित र क्रुर बन्दै गएको छ, बर्षामा हिलोँले सताउँछ, हिउँदमा धुलोले सताउँछ, अतिक्रमित ऐलानी जग्गामा निर्माण गरिएका संरचना हटाएर व्यवस्थित बनाउन नगरपालिकाले योजना अघिसारेपछि वजारवासी र यातायात व्यवसायि खुसी भएका थिए’ उनले भने ‘तर आफैले अघि सारेको योजना नगरपालिका आफैले अलपत्र पारेको छ ।’ वसपार्कलाई व्यवस्थित गरिएमा सहजहुने उनको भनाइ छ ।

अव्यवस्थित बसपार्कले बजार व्यवस्थित हुन सकेन् : अध्यक्ष भण्डारी
श्रीनगर वजार व्यवस्थापन समितीका अध्यक्ष हपिश भण्डारीले श्रीनगरमा व्यवस्थित बसपार्क नहुदाँ बजार व्यवस्थित हुन नसकेको बताउनुभएको छ । व्यवस्थित वसपार्क निर्माण नहुदाँ वजारक्षेत्रमा अव्यवस्थित पार्किङ भैरहेको उहाँको भनाइ छ । यसले गर्दा बजारको सौन्दर्यता हराउदैँ गएको र दुर्घटनाको जाखिम समेत बढेको उहाँले बताउनुभयो ।

‘नगरपालिकाले व्यवस्थित बसपार्क बनाउने भनेर कुरा मात्रै ग¥यो, काम गरेन’ उहाँले भन्नुभयो ‘जिल्लामा बस, भ्यान, अटोको संख्या बढेको छ, बसपार्क छैन्, सबैले बजार क्षेत्रमै पार्किङ गर्छन्, बजारक्षेत्रमा पैदलयात्रुलाई ओहोरदोहोर गर्न समेत समस्या छ ।’ उहाँले बजार व्यवस्थापन समितीसँग बजेट नहुदाँ संरचना निर्माण तथा सुधार लगाएतका कार्य गर्न नसकिएको बताउनुभयो ।

लकडाउनले ढिला भयो, अब तत्काल कामको थालनी गर्छौ : मेयर अधिकारी
शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले श्रीनगरको पुरानो बसपार्क क्षेत्रमा तत्कालै व्यवस्थित र आधुनिक बसपार्क निर्माणको शुरुवात गरिने बताउनुभएको छ । ‘हामीले २०७६ सालमा नै कामको थालनी गर्नेगरी सबै प्रक्रिया अगाडी बढाएका थियौँ, ऐलानी जग्गामा निर्माण गरिएका घरटहरा हटाउन सुचना नै जारी गरेका थियौँ, तर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन भयो’ उहाँले भन्नुभयो ‘सबै घरभित्र सुरक्षित बस्नुपर्ने बेलामा मानविय नाताले पनि घरटहरा हटाउन दिएन्, हामीले त्यो बेला सकेनौँ ।’

उहाँले अबको केही समयमा नै बसपार्क निर्माणको थालनी गरिने बताउनुभयो । ‘जतीसक्छौ, त्यती गर्छौ, केही न केही काम गर्नैपर्छ भनेर हामीले शुरुवात गर्दैछौँ’ उहाँले भन्नुभयो । उहाँले व्यवस्थित वसपार्क निर्माणको लागि आवश्यक बजेट तयारी अवस्थामा रहेको बताउनुभयो । बसपार्क क्षेत्रमा मात्रै ऐलानी जग्गा अतिक्रमण गरेर दर्जनौँ घरटहरा निर्माण गरिएको छ । व्यवस्थित बसपार्क बनाउन डीपीआर गरिएको र यसका लागि करिब ४२ करोड रुपैयाँ आवश्यक पर्ने नगरपालिकाको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस