महेन्द्र माद्यामिक विद्यालयको अभिभावक भेला

‘शिक्षालाई प्रविधिमैत्री र व्यवसायिक बनाउन आवश्यक’

सल्यान २७, फागुन ।
शिक्षालाई प्रविधिमैत्री र व्यवसायिक बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । परिवर्तित समय अनुसार बिद्यालयस्तरबाट प्रदान गरिने शिक्षालाई प्रविधिमैत्री र व्यवसायिक बनाउनुपर्ने र यसका लागि सरकारले शिक्षा क्षेत्रमा बर्षेनी लगानी बढाउदैँ लिनुपर्ने उनीहरुको बताएका हुन् ।
शुक्रवार जिल्लाको शारदा नगरपालिका ४ पिपलनेटामा रहेको महेन्द्र माद्यामिक विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र स्वागत कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले बिद्यालयस्तरको शिक्षा क्षेत्रबाट उत्पादन भएको जनशक्तिलाई बिकाउनको लागि पनि प्रविधि र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका हुन् ।

शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले परम्परागतशैलीमा नभई आधुनिक र प्रविधिको अधिकतम प्रयोग गरेर पठनपाठन गरिनुपर्ने बताउनुभएको छ । अहिलेको समय प्रतिस्पर्धाको भएको बताउदैँ उहाँले भन्नुभयो ‘देशमा जनशक्ति धेरै उत्पादन हुन्छ तर प्रतिस्पर्धामा टप हुनेले मात्रै अवशर पाउने गर्दछ, त्यसैले बिक्ने जनशक्ति उत्पादनको लागि प्रविधि र व्यवसायिक शिक्षामा जोड दिनुपर्छ ।’

उहाँले सामुदायिक बिद्यालयको गुणस्तर उकास्नको लागि बिभिन्न क्षेत्रबाट गरिएका प्रयासहरु प्रशंसायोग्य रहेको बताउदैँ आगामी दिनमा थप गुणस्तरीयता कायम गर्न लाग्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा बिद्यार्थीहरुले बिचमा नै कक्षा छोड्ने प्रचलन बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रको बिकास बिना अरु क्षेत्रको बिकास असम्भव भएकाले सरकारले पनि बर्षेनी लगानी बढाउँदै लैजानुपर्ने उहाँको भनाइ छ ।

शारदा नगरपालिका –४ का वडाअध्यक्ष सुधन बिष्टले सरकारले बिद्यालयहरुको भौतिक सुधारमा मात्रै नभइ शैक्षिक गुणस्तर सुधारमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । यस्तै शारदा नगरपालिका –५ का वडाअध्यक्ष प्रदिप शाहीले हरेक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, बिद्यार्थी र अभिभावकका बिचमा सहकार्य र भावि योजना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष कालीबहादुर रेउलेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रकाश हमालले विद्यालयको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । प्रतिवेदन सार्वजनिक गर्दै उहाँले बिद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि प्रविधिमा जोड दिएको बताउदैँ बिद्यालयलाई आर्थिक रुपमा सक्षम बनाउन लागि परेको बताउनुभयो ।

सोही अवशरमा बिद्यालयका शिक्षक किशोर कुमार हमाल र अवकाश प्राप्त शिक्षिका ललिता कुमारी शाक्यले विद्यालयमा निर्माणाधिन सरस्वती मन्दिरमा राख्नको लागी सरस्वतीको मुर्ति, गजुर सहितका करिव ८९ हजार बढिका विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । यस्तै यही मंसिर १ गतेबाट शैक्षिक अवकाश प्राप्त शिक्षिका शाक्यको बिदाइ गरिएको छ भने शिक्षिका शान्ती थापालाई स्वागत गरिएको छ ।

बिद्यालयका शिक्षक द्रोण कुमार उपाध्यायको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रबिन भण्डारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस