घुइयावारीका घर–घरमा खानेपानी धारा

प्रत्येकका घरमा खानेपानीका धारा जडानभएपछि बबइ नदिको दूषित पानी पिउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सल्यान १०, चैत ।

सल्यानको कालिमाटी गाउँपालिका ७ काप्रेचौर घुइयावारीकी निर्मला बुढाको दैनिकी खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घर नजिकैँ खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनको लागि बबइ नदिमा जानुहुन्थ्यो । ‘हामीलाई पानीका धेरै दुःख थिए, बबइको पानी खान्थ्यौँ’ उहाँ भन्नुहुन्छ ‘मान्छेले पिउने, बस्तुभाउलाई खुवाउने, नुहाउने र कपडा धुनको लागि बबइ नदिको पानीको प्रयोग गथ्र्यौ ।’

तर अहिले उहाँलाई पिउने, नुहाउने, कपडा धुने, बस्तुभाउलाई खुवाउे पानीका लागि बबइ नदिमा जानुपर्दैन । ‘डोकोमा गाग्री बोकेर जान्थ्यौँ, चैतबैशाखमा पानी सफा देखिन्थ्यो, तर बर्खामा पानी धमिलो हुन्थ्यो, रुमालले छानेर प्रयोग गथ्र्यौ’ उहाँले भन्नुभयो ‘अहिले दैनिकी फेरिएको छ, पानीको लागि बबइ जानुपर्दैन्, घरमा नै पानीको धारा छ, आवश्यकता अनुसार प्रयोग गर्न पाइन्छ ।’

घुइयावारीकै भिमसरा बुढा पनि पानी ल्याउन सधैँ बबइ नदिमा जानुहुन्थ्यो । ‘नदिको दूषित पानीले मानव स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुदाँहदैँ पनि नदिकै पानी प्रयोग गर्न बाध्य थियौँ’ उहाँले भन्नुभयो ‘झाडापखाला, आँउ जस्ता समस्या देखिन्थेँ, कतिपयलाई त एलर्जी समेत भएको थियो, तर अव नदिको पानी प्रयोग गर्नुपर्दैन् ।’

घरमा नै खानेपानीको धारा आएपछि अहिले उहाँ खुसी हुनुहुन्छ । ‘यसरी घरैमा पानी आउला भन्ने सोचेको थिईन, अहिले त पानीका लागि खर्चिनुपर्ने समयको बचत भएको छ, घरैमा सफा पानीको प्रयोग गर्नपाएका छौँ’ उहाँले भन्नुभयो ‘घरायसी काममा प्रयोग गरिएको पानीलाई करेसावारी सिँचाइमा प्रयोग गर्छौ, लसुन, प्याक, साग, धनियाँ किनेर खानुपर्दैन् ।’

निर्मला र भिमसरा मात्रै होइन, अहिले घुइयावारीका १ सय ४३ घरधुरी यसरी नै खुसी भएका छन् । विगतमा डोकोमा गाग्री बोकेर बबइको दूषित र फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको उनीहरुलाई भनाइ छ । स्थानिय गोपाल पुनले गाउँमै खानेपानीका लागि पहल थालेको झण्डै पाँच दशक पछि घर–घरमा पिउने पानी आएको बताउनुभयो ।

जर्सी ओभरसिज एडको आर्थिक सहयोग र दलित बिकास समाज सल्यानको व्यवस्थापनमा सञ्चालित रियलाइज परियोजना मार्फत खानेपानी योजना सम्पन्न भएपछि घुइयावारी र बाघमारेका स्थानिय लाभान्वित भएका छन् । एक–घर एक–धारा अन्र्तगत प्रत्येक नागरिकका घरमा धारा जडान गरिएको छ भने सार्वजनिक स्थल बिद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीमा धारा जडान गरिएको हो ।

रियलाईज परियोजना र कालिमाटी गाउँपालिकाको लागत साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो । जसअन्र्तगत पतेरी खोला ग्राभिटि योजनाबाट ९१ घरधुरीका ४ सय ७३ जनसंख्या लाभान्वित भएका छन् । गाउँपालिकाको झण्डै ११ लाख, परियोजनाको झण्डै ७ लाख र स्थानियको नगद तथा श्रमदानबाट यो खानेपानी योजना सम्पन्न भएको हो ।

यस्तै बाघमारे ग्राभिटि योजनाबाट ५२ घरधुरीका २ सय ७० जनसंख्या लाभान्वित भएका छन् । गाउँपालिकाको ८ लाख, परियोजनाको झण्डै ७ लाख र स्थानियको नगद तथा श्रमदानबाट यो खानेपानी योजना पनि सम्पन्न भएको हो । निर्माण समितीका अध्यक्ष जीत बहादुर घर्तीले घर–घरमा पुगेको खानेपानीलाई दिगो व्यवस्थापन लागि आफुहरु योजनावद्ध भएर लाग्ने बताउनुभयो ।

परियोजनाका जिल्ला संयोजक महेश हिताङले बाँके राष्ट्रिय निकुञ्जले छोएको मध्यवर्ती क्षेत्रमा रहेर यस परियोजनाले विविध कार्यसञ्चालन गरेको बताउनुभयो । विगतमा खानेपानीको अभावकै कारण स्थानिय नागरिकले सास्ती पाएको अवस्थामा बिभिन्न क्षेत्रसँगको सहकार्यमा प्रत्येक नागरिकका घरमा खानेपानीका धारा जडान भएपछि नागरिकहरु खुसी भएको बताउनुभयो । यसका साथै मध्यवर्ती क्षेत्रका नागरिकले भोग्दै आएका समस्याको पहिचान गरेर समाधानका लागि परियोजनाले काम गर्दै आएको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस