शिलान्यास भएको २८ बर्षपछि लुहाम-कालिमाटी सडक सञ्चालन

राजधानी जोड्ने वैकल्पिक सडकका रुपमा विकास गर्छौ : ज्वाला

सल्यान १५, चैत ।
सल्यानको त्रिवेणी लुहाम–कालिमाटी रामपुर सडक शिलान्यास भएको २८ बर्षपछि सञ्चालनमा आएको छ । बि.सं. २०५० सालमा शिलान्यास गरिएको सडकको बिभिन्न खण्डहरुको ट्र्याक ओपन गरिएपछि सञ्चालनमा आएको हो । जिल्लाको त्रिबेणी लुहाम काभ्रा हुदैँ कालिमाटी रामपुर जोड्ने २७ किलोमिटर सडक शिलान्यास भएको २८ बर्षपछि सञ्चालनमा आएको हो ।

पछिल्लो समय नयाँ ४ किलोमिटर सडक निर्माण गरेपछि जिल्लाको लुहाम, काभ्रा, कालिमाटी रामपुर हुदैँ प्रदेश राजधानी सुर्खेतसम्म यो सडक जोडिएको हो । यससडक भएर जिल्लाको कालिमाटी गाउँपालिका, त्रिबेणी गाउँपालिका, कपुरकोट गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाका नागरिकलाई प्रदेश राजधानी आउजाउमा सहजता हुने भएको छ ।

सडकको ट्र्याक ओपन भएसँगै यसको स्तरोन्नतीको काम समेत थालिएको पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार करिब १५ करोड बढी बजेटमा अहिले यस सडकको केही भागमा ग्राभेलिङको काम भैरहेको छ । त्यस्तै लुहामबाट ११ किलोमिटर अगाडी तर्फ कालोपत्रेका लागि ३५ करोडको ठेक्का भैसकेको छ । अब कालोपत्रेको काम हुन बाँकी छ ।

सडकको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सल्यान जिल्लालाई कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोड्ने वैकल्पिक सडकका रुपमा यस सडकलाई विकास गरिने बताउनुभएको छ । जिल्लाकै कपुरकोट गाउँपालिका, त्रिबेणी गाउँपालिका लगाएतका स्थानिय तहलाई प्रदेश राजधानी जान लुम्विनी प्रदेश भएर जानुपर्ने बाध्यता रहेको अवस्थामा यस सडकले सहजता बनाउने उहाँको भनाइ छ ।

‘खलंगा कुपिण्डे बालुवासंग्रही हुदैँ प्रदेश राजधानी जोड्ने सडक जिल्लाको महत्वपुर्ण र गौरवको सडक हो, जसले नागरिकलाई केही सहज बनाएको छ’ उहाँले भन्नुभयो ‘लुहाम काभ्रा कालिमाटी सडक अर्को महत्वपुर्ण सडक सञ्चालनमा आएको छ, यसलाई स्थानिय उत्पादनलाई निर्यात गर्ने सडकको रुपमा विकास गरिनुपर्छ, पर्यटन क्षेत्रको विकासमा समेत यसले टेवा पुर्याउने छ ।’

नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपमहासचिव समेत रहनुभएका ज्वालाले यस सडकलाई जिल्लावासीले आर्थिक उपार्जनको क्षेत्रमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सडकको स्तरोन्नतीको लागि आफुले पहल गर्ने समेत बताउनुभएको छ । सडकको विकास विना बिकासका अन्य क्षेत्रहरुको बिकास असम्भव भएकाले सरकारले पनि प्राथामिकता दिएको उहाँको भनाइ छ ।

सडक उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसी, कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्मा, पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुन लगाएतको उपस्थिति रहेको थियो । निर्माण व्यवसायी धिरज रावतको अध्यक्षतामा भएको सडक उद्घाटन कार्यक्रमको सहजीकरण डिल्ली केसीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस