नेकपा एकीकृत समाजवादी सल्यानद्धारा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा

पार्टीको पक्षमा जनमत सिर्जना गर्न लागिपर्ने अध्यक्ष केसीको भनाइ

सल्यान १५, चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । मंगलवार जिल्लाको सदरमुकाम खलंगास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले जिल्लाभर ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो ।

जसको संयोजकमा पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज एवम् राष्ट्रियसभा सदस्य उदय बहादुर बोहरा रहनुभएको छ । यस्तै उपसंयोजकमा पार्टीका जिल्ला अध्यक्ष हरि केसी रहनुभएको छ भने सदस्यहरुमा राम खड्की, रमेश गौतम, भोला केसी, कल्पना सेजवाल लगाएतका रहनुभएको छ ।

यस कमिटीले आसन्न स्थानिय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्दै पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनको लागि चुनाव प्रचारप्रसार लगाएतका कार्य सञ्चालन गर्ने छ । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका जिल्ला अध्यक्ष हरि केसीले जिल्लाका दश वटै पालिका, ८३ वटै वडा र ४ सय २३ वटा टोलहरुमा टोल कमिटी गठन गरिसकेको बताउनुभयो ।

यी सबै कमिटीहरुमा गरेर १५ हजार ७ सय ४३ नेताकार्यकर्ता समाबेश भएको उहाँले बताउनुभयो । यस्तै विभिन्न जनवर्गिय संगठनहरुमा ५ सय बढी आवद्ध भएको उहाँको भनाइ छ । उहाँले अहिले सम्म आफुहरु संगठन बिस्तार, भेला तथा प्रशिक्षणमा व्यस्त भएपनि अवभने निर्वाचन केन्द्रित भएर लाग्ने बताउनुभयो ।

उहाँले जिल्लाका सबै पालिका र वडाहरुमा उम्मेदवारी दिन आफ्नो पार्टी तयार भएको र जीत पनि हासिल गर्ने बताउनुभयो । ‘अहिलेको सत्ता गठबन्धनको निर्णयलाई आत्मसाथ गर्दै अगाडी बढ्ने गर्छौ’ उहाँले भन्नुभयो ‘हामी कमजोर छैनौँ, सबै क्षेत्रमा उम्मेदवारी दिने गरी तयारी गरेका छौँ, बाँकी केन्द्रको निर्णय अनुसार हुन्छ ।’ पत्रकार सम्मेलनको सहजीकरण पार्टीका जिल्ला उपसचिव कल्पना सेजवालले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस