सल्यान २०, चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल जिल्ला कार्य समिती सल्यानले आसन्न स्थानिय तहको निर्वाचनलाई केन्द्रित गरेर जिल्लाभर युवा परिचालन गरेको छ । आइतवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न सातौँ बैठकले जिल्लाभर निर्वाचन लक्षित गरेर एक हजार एक सय युवा परिचालन गरेको हो ।
आसन्न स्थानिय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्दै पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनको लागि चुनाव प्रचारप्रसार लगाएतका कार्य सञ्चालन गर्न युवा परिचालन गरिएको संघका जिल्ला अध्यक्ष न्युटन श्रेष्ठले जानकारी दिनुभयो ।
संघका जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा संघका केन्द्रिय सचिव खड्ग आचार्य, केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज ओमकार वली, केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज टोपेन्द्र वली, केन्द्रिय सचिवालय सदस्य होमराज केसी, धिरज रावत, प्रदेश कमिटीका सदस्यहरु लगाएतको सहभागिता रहेको थियो । बैठकको सहजीकरण सचिव शिवराज अधिकारीले गर्नुभएको थियो ।