सल्यान २२, चैत ।
सल्यानको त्रिबेणी गाउँपालिकाले संघीयता पछिका पाँच बर्ष नामक पुस्तक सार्वजनिक गरेको छ । सोमवार गाउँपालिकाको मुकाम लुहाममा एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाले सो पुस्तक विमोचन सँगै सार्वजनिक गरेको हो । स्थानिय तहको निर्वाचन पश्चातमा जनप्रनिधि आएपछि गाउँपालिकाले सञ्चालन गरेका विविध गतिविधिका बारेमा पुस्तकमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले गाउँपालिकामा निर्वाचित भएपछि सिकाइ धेरै भएको बताउनुभएको छ । यसअवधिमा विकास निर्माणका सन्दर्भमा धेरै काम गर्न बाँकी भएपनि धेरै कामहरुको शुरुवात गरिएको उहाँको भनाइ छ । हामीले पाँच बर्षको अवधिमा सम्पन्न गरेका कामहरुको अभिलेखिकरण गरेका छौँ, यसले आगामी दिनमा गाउँपालिकाको बिकास र समृद्धिका लागि महत्वपुर्ण काम गर्ने छ उहाँले भन्नुभयो ।
उहाँले यस पुस्तकमा गाउँपालिका भित्रको भौगोलिक अवस्था, संघीयता कार्यान्वयनको चरणमा रहेकाले प्रथम पटक निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीहरुको अनुभव, गाउँपालिका पाँच बर्षको अवधिमा विनियोजित रकम, प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त वजेट, यसको कार्यान्वयन र उपलब्धिका बारेमा शिक्षा, स्वास्थ्य, पूर्वाधार बिकास लगाएतका बारेमा जानकारी राखिएको बताउनुभयो ।
अध्यक्ष डाँगीले आफ्नो कार्यकालमा केही सकारात्मक काम गरेको बताउनुभयो । विगतमा दिउसोँ २ बजेपछि सबै स्वास्थ्य संस्थाहरु बन्द हुने गरेकोमा अहिले ३ सय ६५ दिनमा नै खुल्ला रहने व्यवस्था मिलाइएको बताउनुभयो । यस्तै गाउँपालिकालाई पशुपालन र कृषिको क्षेत्रमा आत्मनिर्भर बनाउनको लागि अनुदानका कार्यक्रम सहित किसानको उत्पादनको आधारमा प्रोत्साहन रकम दिने व्यवस्था गरिएको बताउनुभयो ।
यस्तै सडक निर्माणलाई प्राथामिकता दिएको, बिद्यालयहरुको भौतिक तथा शैक्षिक सुधारमा लगानी गरेको, खानेपानीका सयौँ योजनाहरु सञ्चालन गरिएको, बिद्युतिकरणमा जोड दिएको उहाँले बताउनुभएको छ । यस्तै पाँच बर्षको अवधिमा गाउँपालिकाले १ सय १७ किमी नयाँ कच्ची सडक निर्माण गरेको जनाएको छ । गाउँपालिकाका सबै वडा कार्यालय सम्म बाह्रै महिना सवारी साधन चल्ने व्यवस्था गरिएको र केही महत्वपुर्ण सडकहरुको निर्माण कार्य शुरु गरिएको जनाइएको छ ।
यस्तै पाँच बर्षको अवधिमा सात वटा झोलुगें पुल निर्माण गरिएको, २ हजार ७ सय ९३ मिटर पक्की कुलो निर्माण गरिएको, खोला तथा नदिहरुमा ३८ वटा तटवन्ध निर्माण गरिएको जनाइएको छ । यस्तै ६ वटा पक्की पुल र २ हजार १ सय मिटर पक्की सिचाइ कुलोको लागि आवश्यक योजना निर्माण गरिएको, स्थानिय पाठ्यपुस्तक हाम्रो त्रिवेणी निर्माण गरि पठनपाठन शुरु गरिएको उल्लेख गरिएको छ ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुनले त्रिवेणी गाउँपालिका सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो । कृषि र पर्यटनको क्षेत्रमा धेरै सम्भावना भएको उहाँको भनाइ छ । कार्यक्रममा पुर्व त्रिबेणी गाबिस अध्यक्ष घनश्याम बोहरा, नेपाली काँग्रेसका पार्टी सचिब गंगाराम पुन, नेकपा एमाले त्रिवेणीका सचिब धनराज तुफान, नेकपा माओवादीका अध्यक्ष राजेन्द्र कुमार थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कुल बहादुर भण्डारी, राप्रपाका जिल्ला सदस्य गणेश बहादुर भण्डारी, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश सदस्य दिपक शर्मा लगाएतले बोल्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष करुणा खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले गर्नुभएको थियो ।