सल्यानका ८४ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

शुक्रवार देखी खोप अभियान शुरु हुने, नजिकैको खोप केन्द्रमा गएर लगाउन सबैमा आग्रह

सल्यान २४, चैत ।

सल्यानका ८४ हजार बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरेर दश वटै स्थानिय तहका ८४ हजार ३३ बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तरगत नै जिल्लामा रहेका १५ महिना देखी १५ बर्षमुनिका बालबालिकाहरुलाई खोप लगाउने तयारी गरिएको हो ।

जिल्लाका सबै पालिकाहरुमा फरक फरक समयमा गरेर २०७८ चैत २५ गतेदेखी २०७९ बैशाख ८ गतेसम्म अभियान सञ्चालन हुने छ । जसमा बिद्यालय क्षेत्रभित्रका ६६ हजार ५३ जना बालबालिका र बिद्यालय क्षेत्र बाहिरका १७ हजार ९ सय ८३ जना बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शारदा नगरपालिकाका १२ हजार ७९, बागचौर नगरपालिकाका १२ हजार ७ सय ४३ र बन्गाड कुपिण्डे नगरपालिकाका १२ हजार ६ सय ८ जना बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप लगाइने छ । यस्तै कालिकाटी गाउँपालिकाका ७ हजार २९, दार्मा गाउँपालिकाका ८ हजार २ सय २०, त्रिबेणी गाउँपालिकाका ५ हजार ६ सय ६४, कपुरकोट गाउँपालिकाका ६ हजार २ सय ९० जना बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइदैँ छ ।

यस्तै छत्रेश्वरी गाउँपालिकाका ६ हजार ६ सय ५०, कुमाख गाउँपालिकाका ७ हजार ९ सय ७० र सिद्ध कुमाख गाउँपालिकाका ४ हजार ७ सय ८३ बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप लगाइने छ । यस्तै जिल्लाभर टाइफाइड विरुद्धको खोप अभियानका लागि जिल्लाभर ४ सय ९ खोपकेन्द्र निर्धारण गरिएको छ । जसमा ५ सय ९ स्वास्थ्यकर्मी र १ हजार १ सय ३८ स्वयम्सेवक गरेर १ हजार ७ सय २८ जनशक्ति परिचालन हुने छ ।

जिल्लाको शारदा नगरपालिका, दार्मा गाउँपालिका र कालिकाटी गाउँपालिकामा चैत २५ गते देखी खोप अभियान सञ्चालन हुने छ । यस्तै बन्गाड कुपिण्डे नगरपालिका, त्रिबेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कुमाख गाउँपालिकामा चैत २७ गतेदेखी र बागचौर नगरपालिकामा चैत २८ गते देखी अभियान सञ्चालन हुने छ ।

यस्तै सिद्धकुमाख गाउँपालिकामा २०७९ बैशाख ३ गतेदेखी र कपुरकोट गाउँपालिकामा २०७९ बैशाख ४ गतेदेखी अभियान सञ्चालन हुने छ । ‘बालबालिका १५ वर्ष पुग्दासम्म टाइफाइड रोग विरुद्धको खोप अनिवार्य लगाउनुपर्छ, निमित्त स्वास्थ्य सेवा व्यवस्थापक श्रेष्ठले भन्नुभयो ‘१५ वर्षमुनिका बालबालिकाहरुमा टाइफाइड रोगको ११ गुणा संक्रमण हुने उच्च जोखिम रहेकाले न्यूनिकरण गर्न खोप अभियानलाई तिव्रता दिँदैछौं ।’

पानी र खानेकुराबाट टाइफाइड रोगको संक्रमण हुनुमा तेस्रो स्थानमा रहेकाले नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको संक्रमण देखिएको तथ्याङ्क छ । अपाङ्गता र मृत्युदर घटाउने उद्देश्यले खोप अभियानलाई प्रभावकारी बनाउन लागेको उहाँको भनाइ छ । जिल्लाका १ दशमलव ६ प्रतिशत बालबालिकाहरु खोपको पहुँच बाहिर रहेकाले ती सबै बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोपमा सरिक बनाउन अभियान नै सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

यसैविच बुधबार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्टले खोपबाट कुनै पनि बालबालिका नछुटाउदैँ सबैलाई खोपको पहुँचमा लैजानको लागि सबैक्षेत्रले पहल गर्नुपर्ने बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले १५ महिना माथिका बालबालिकाहरुले अरु खोप सँगै टाइफाइड रोग विरुद्धको खोप लगाउदा पनि कुनै असर नपर्ने भएकाले खोपलाई अनिवार्य रुपमा लगाउनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण स्वास्थ्य सेवा कार्यालय सल्यानका तारा रिजालले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस