खुलाचौरमा बसेर बार्षिक परिक्षा दिदैँ बिद्यार्थी

बिद्यालयमा कक्षाकोठा अभाव

सल्यान २९, चैत ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका स्थित त्रिभुवन जनता माद्यामिक बिद्यालय च्युरामा कक्षा १० मा अध्ययनरत विनोद केसीले खुला चौरमा बसेर टेष्ट परिक्षा दिनुभयो । सोही कक्षामा अध्ययनरत ललिता बिष्टले पनि चौरमा बसेर परिक्षा दिनुभयो । उहाँहरु मात्रै होइन् यस बिद्यालयमा अध्ययनरत धेरै बिद्यार्थीहरुले खुला आकाशमुनि बसेर पढ्छन्, खुला आकाशमुनि बसेरै परिक्षा दिन्छन् ।

बिद्यार्थीहरु बस्ने कक्षाकोठा नहुँदा यस बिद्यालयका बिद्यार्थीहरुले खुला चौरमा बसेर बार्षिक परिक्षा दिन थालेका हुन् । बिद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा कोचाकोच गरेर पढेका बिद्यार्थीहरुले अहिले टन्टलापुर घाममा पनि खुला चौरमा बसेर बार्षिक परिक्षा दिन थालेका हुन् । बिद्यार्थीहरुको अनुपातमा कक्षाकोठा नहुँदा खुला आकाशमुनि राखेर परिक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बिद्यालयले जनाएको छ ।

यस बिद्यालयले एउटै कोठामा समेत १ सय २५ जना सम्म बिद्यार्थीहरु राखेर पढाउने गरेको छ भने एउटै बेन्चमा कोचाकोच गरेर ६÷७ जना बिद्यार्थीहरु समेत बस्ने गरेका छन् । कक्षा ६ मा ९६ बिद्यार्थी छन् । यस्तै कक्षा ७ मा १ सय ८ जना, कक्षा ८ मा १ सय ९ जना बिद्यार्थी छन् । यस्तै कक्षा ९ मा २ सय १० जना बिद्यार्थी रहेका छन् । यस शैक्षिकसत्रमा यस बिद्यालयमा ११ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

यस बिद्यालयमा बिद्यार्थीहरुको संख्या धेरै भएपछि कक्षाकोठामा अटाउनै मुस्किल हुदा खुला आकाशमुनि परिक्षा सञ्चालन गरिएको छ । बिद्यालयमा कक्षाकोठा अभाव हुदाँ बिद्यार्थीहरुलाई चौरमा राखेर परिक्षा सञ्चालन गर्नुपरेको बिद्यालयका शिक्षक वसन्त पराजुलीले बताउनुभयो ।

‘बिद्यालयमा कक्षाकोठा छैनन्, कोचाकोच गरेर पठनपाठन सञ्चालन गरेका थियौँ, तर परिक्षामा पनि त्यसरी नै कोचाकोच गरेर सञ्चालन गर्नु त भएन भनेर हामीले चौरमा बिद्यार्थीहरुलाई राखेर परिक्षा सञ्चालन गरेका हौँ’ बिद्यालयका प्रधानाध्यापक गुमानसिंह बिष्टले भन्नुभयो ‘कक्षा बिभाजन गरेर पढाइ सञ्चालन गर्न शिक्षक दरबन्दी कम भयो, एउटै कोठामा राखेर पठनपाठन गर्न पनि समस्या भयो, कक्षाकोठा नहुदाँ अहिले परिक्षा सञ्चालन गर्नपनि समस्या भएको छ ।’

उहाँले भवन अभावकै कारण कक्षा ११ र १२ बिद्यार्थीहरुलाई बिद्यालय भवनको छतमा राखेर पढाउँदै आएको बताउनुभयो । प्रावि तहमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्दा तल्लो कक्षाहरुमा समेत विद्यार्थीको चाप बढेको उहाँको भनाइ छ । ‘हामी कहाँ बिद्यार्थीहरुको चाप धेरै भयो, पठनपाठन र परिक्षा नै खुला चौरमा गराउनुपर्ने अवस्था आएको छ’ उहाँले भन्नुभयो ‘बिद्यार्थीहरुलाई चौरमा राखेर परिक्षा बनाउनुपर्ने बाध्यता छ ।’

कक्षा ६ देखि १२ सम्म एउटै कोठामा एक सय बढी विद्यार्थीहरु राखि पढाउनु भनेको विद्यालयको वाध्यता भएको उहाँको भनाइ छ । ‘हामी कहाँ शिक्षक र बिद्यालय भवन दुवैको आवश्यकता छ’ उहाँले भन्नुभयो ‘बिद्यार्थीको चाप भएको बिद्यालयमा भवनको लागि वजेट आउँदैन्, दरबन्दी थप गरेर शिक्षक पनि पठाउदैन्, यसले बिद्यार्थीहरुको सिकाइमा असर गरिरहेको छ ।’

बिद्यालयमा भवन अभावकै कारण प्राविधिक धार तर्फको वालिविज्ञानको लागि प्रयोगशाला सञ्चालन गर्न सकिएको छैन् । कक्षा कोठा अभावले कक्षा सञ्चालनमा चुनौती थपिरहेको वेला कसरी प्रयोगशालाका सामग्री व्यवस्थापन गरि विद्यार्थीहरुलाइ सिकाउने भन्ने कुराले निकै समस्या वनाएको बिद्यालयको भनाइ छ ।

यस बिद्यालयको समस्याका बारेमा सबै निकाय जानकार भएपनि समस्या समाधानको लागि कसैले पहल नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलाराम वुढाले बताउनुभयो । बिद्यालयको आर्थिक स्रोत वलियो नहुदा बिद्यालय आफैले नै भवन निर्माण गरेर बिद्यार्थीहरुको पठनपाठनलाइ सहज बनाउन नसकेको उहाँको भनाइ छ ।
यस बिद्यालयमा तत्काल ६ वटा कोठाको आवश्यकता रहेको जनाइएको छ । हाल ६ वटा भवन भएको यस बिद्यालयमा १९ वटा कोठा रहेका छन् । जसमा प्रशासनिक, लेखा, पुस्तकालय सहित ५ वटा कोठा प्रयोग गरिएको छ भने बाँकी कोठालाई कक्षाकोठाको रुपमा प्रयोग गरिएको छ । तर अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको, प्राबिधिक धारको पढाइ शुरु गरिएको र बर्षेनी बिद्यार्थीहरुको संख्या बढ्दै गएकाले आगामी दिनमा झन् समस्या हुने बिद्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित