कपुरकोट २९, चैत ।
सल्यानको मुलपानीमा वनस्पति विभागको ६२ औँ वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवस वनस्पतिको अनुसन्धान र नवप्रवद्र्धन राष्ट्रको उन्नयन भन्ने नाराको साथ वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानमा पनी मनाइएको छ । वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानका कार्यालय प्रमुख डा.मित्रलाल पाठक सभाअध्यक्ष हुनुभएको कार्यक्रममा प्रमुख अतिथि सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका प्रमुख कमल भण्डारी, कालिका मा.वि.कपुरकोटका प्रअ चुडामणि केसी, जीवनज्योती मा.वि. रिमका प्रअ भुपाल साहु, उद्योग वाणिज्य संघ सल्यानका निवर्तमान सदस्य कमल घर्ति लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा देश विकासमा वनस्पतिको महत्व विषयक कविता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियो । जसमा प्रथम स्थान हाँसिल गर्ने जीवनज्योती मावि रिमकी छात्रा भुमिका बुढाथोकी, द्वतीय स्थान हाँसिल गर्ने नेरामावि किमुचौरकी छात्रा राधिका बुढा मगर र तृतीय स्थान हाँसिल गर्ने कालिका मावि कपुरकोटकी छात्रा पुष्पा बुढा मगरलाई क्रमशः २५००, २०००, १५०० सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । यस्तै अन्तर विद्यालय बाटिका निर्माण प्रतियोगितामा उत्कृष्ट जीवनज्योती मावि रीमलाई पनि पुरस्कृत गरिएको थियो । वनस्पति अनुसन्धान केन्द्रले दिवसको अवसरमा कार्यालयका २ जना कर्मचारीहरु दल बहादुर बुढाथोकी र राधा बुढाथोकीलाई सम्मान पनि गरेको छ ।
कार्यक्रममा लेखापाल रेखा बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार शंकर केसीले कार्यक्रम सहजिकरण गरेको वनस्पति अनुसन्धान केन्द्र मुलपानीमा कार्यरत दामोदर दाहालले जानकारी दिनुभएको छ । मुलपानी वनस्पति उद्यानमा ५५० बढी प्रजातीका वनस्पतिहरु रहेका छन् ।