आमाको किरिया गर्दै गिता

परिवारमा छोरा नभए पछि र छोरीले आमाको किरिया बस्ने अठोट लिएपछि पारिवारिक सल्लाहमै मृत्युपश्चातको संस्कार पूरा गर्ने जिम्मेवारी छोरीलाई दिइएको हो ।

सल्यान १, बैशाख ।
अक्सर समाजमा आमाबुवाको काजकिरिया छोराले गर्ने चलन छ । तर पछिल्लो समय छोरी पनि अन्तिम संस्कारसहित काजकिरियामा सहभागि हुन थालेका छन् । अहिले सल्यानको शारदा नगरपालिका निवासी १५ बर्षिया छोरी आफ्नी आमाको मृत्युपश्चात् हिन्दू संस्कार अनुसार काज किरियामा हुनुहुन्छ । छोरी किरिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासलाई तोड्दै जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरी निवासी गिता रेउलेले आफ्नी आमाको किरिया गरिरहनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएर आमा लिलावतिको यही चैत २२ गते निधन भएपछि छोरी गिता किरिया बस्नुभएको हो । छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आफ्नी आमाको किरिया बसेपछि अहिले धेरैले यो विषयलाई निकै चासोका साथ हेरेका छन् । यस्तो घटना समाजका लागि उदाहरणीय मानिन्छ । परिवारमा छोरा नभए पछि र छोरीले आमाको किरिया बस्ने अठोट लिएपछि पारिवारिक सल्लाहमै मृत्युपश्चातको संस्कार पूरा गर्ने जिम्मेवारी छोरीलाई दिइएको हो ।

‘आफूलाई जन्मदिने आमाको दाग बत्ति दिन्छु र किरिया गर्छु भनेर अठोट लिएपछि पारिवारिक सल्लाहमै छोरीलाई काज किरिया गर्न अनुमति दिइएको हो’ छिमेकी शुकलाल खड्काले भन्नुभयो । उहाँले गाउँमा नै पहिलो पटक छोरीले आमाको किरिया गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘समाजले काजकिरियाका लागि छोरा नै हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको भएपनि छोरा नहुनेको हकमा घरभित्रकै नजिकको व्यक्तिलाई किरिया गर्न लगाउने गरेको थियो, तर त्यो संस्कार तोडिएको छ ।’

समाजमा छोरा र छोरी बीच हुने विभेदलाई चुनौती दिँदै गिताको निणर्यले समुदायमा छोराछोरी दुवै समान हुन् भन्ने सकारात्मक सन्देश दिएको वडाअध्यक्ष लिला बहादुर रोकाले बताउनुभयो । ‘छोराछोरी बराबर हुन् भन्ने हाम्रो समाजले छोरीलाई आमाबुवाको किरिया गर्नुहुदैन् भन्दै आएको थियो, तर चेतनाको स्तर बढ्दै गएको छ, अहिलेको यस कार्य समाजका लागि अनुसरणिय छ’ उहाँले भन्नुभयो ।

अहिले समाजमा छोरा नभएर काजकिरिया कस्ले गर्ला भनेर बसेकाहरुलाइ पनि आत्मसन्तुष्टि प्रदान गरेको उहाँको भनाइ छ । गिताले क्रिया गर्दा कपाल खौरने बाहेक अरु सबै विधि पूरा गरिरहनुभएको छ । गिताले कालिका माद्यामिक बिद्यालय कजेरीमा कक्षा ९ मा अध्ययन गर्नुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस