पढ्दापढ्दै विद्यार्थी बेहोस

चार महिनादेखीको समस्या जस्ताको त्यस्तै : टोलमै पुगेर परिक्षा सञ्चालन

तस्वीर : छात्राहरु बेहोस हुनथालेपछि टोलमै पुगरे बार्षिक परिक्षा सञ्चालन गरिदैँ ।

सल्यान २, बैशाख ।
बिद्यालयको पोशाक लगाएका विद्यार्थीहरु किताव, कापि, कलम सहितको झोला बोकेर विद्यालयमा आउँछन् । बेन्चमा बस्न नपाउँदै भुईमा ढलिहाल्छन् । भुईमा ढलेपछि चिच्चाउने, कराउने, घाँटीमा न्याक्ने, काप्ने जस्ता फरक फरक लक्षण देखाउँछन् । भुइँमा ढलेर बर्बराउँदै बचाउ बचाउ समेत भन्छन् । कतिले आफ्ना आमाबुवालाई बोलाइदिन आग्रह गर्छन् ।

यो सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ लेखटाकुरामा रहेको सिर्जनशिल आधारभूत विद्यालयका विद्यार्थीहरूमा देखिएको अनौठो रोग हो । यस विद्यालयमा मंसिर महिनाको अत्यतिर देखी दैनिक छात्रा विद्यार्थीहरू बेहोस भएर ढल्ने समस्या देखिएको छ । विद्यालयमा झण्डै चार महिना पहिले कक्षा ४ मा अध्ययनरत एक जना छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेकी थिइन् ।

उनी लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीहरू पनि त्यस्तै गरी चिच्चाउने, कराउने, बेहोस हुन थालेको विद्यालयका शिक्षक झक्कुप्रसाद वलीले जानकारी दिनुभयो । ‘बिद्यार्थी बेहोस हुने, चिच्याउने, लड्ने जस्ता समस्या विद्यालयमा पहिलो पटक देखा परेको हो’ उहाँले भन्नुभयो ‘विद्यार्थीमा निरन्तर बेहोस हुने लक्षण देखिएको थियो तर बिचमा कोरोना संक्रमणको जोखिमका कारण बिद्यालय बन्द भयो, पछि बिद्यालय सञ्चालन हुन बित्तिकै यस्तो समस्या फेरी देखियो ।’

हाल यस बिद्यालयमा अध्ययनरत १७ जना बढी बिद्यार्थीमा यस्तै समस्या देखिएको छ । विद्यार्थीहरूमा यस्तो लक्षण देखेपछि विद्यार्थीहरूलाई जचाउँनका लागि स्थानिय स्वास्थ्य संस्था हुदैँ जिल्ला अस्पताल सल्यानमा पनि लगिएको थियो । जचाउँदा डाक्टरले केहि रोग नभेटिएको जानकारी दिएका थिए । तर अहिले परिक्षा दिदादिदैँ समेत विद्यार्थी कक्षा कोठामा बेहोस हुने गरेको छन् ।

‘घरमा बसेको बेला केही हुन्न, विद्यालयमा मात्रै बेहोस हुने गरेका छन्’ बिद्यालयका प्रधानाध्यापक तिलक पुन मगरले भन्नुभयो ‘कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेपछि पढाई समेत प्रभावित भएको थियो, अहिले परिक्षा पनि प्रभावित भैरहेको छ, केही बिद्यार्थी परिक्षा गर्न आउनै छोडे ।’ अभिभावकहरुको आग्रहमा त्यस्तो खालका समस्या भएका बिद्यार्थीहरुको लागि टोलमा नै पुगेर परिक्षा सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

उहाँले परिक्षा सञ्चालन गर्दागर्दै पनि बिद्यार्थीहरु बेहोस हुने गरेको बताउनुभयो । बिद्यार्थी बेहोस हुने समस्या देखिएपछि अभिभावकहरूको सल्लाहमा बिद्यालयमा देविदेवता पुजा गर्ने लगाएतका कार्य गरियो तर बिसोक भएन । विद्यालयमा यस्तो प्रकारको अनौठो रोग देखा परेपछि पढ्न बिद्यालय आउन छोडेका केही विद्यार्थीहरू बार्षिक परिक्षा दिन समेत आउन छाडेका छन् ।

यो समस्या ‘कन्भर्सन डिसअर्डर’ भएको मनोपरामर्शकर्ता बताउँछन् । यो समस्या डर, चिन्ता, भय र तनावका कारण हुने भएकाले औषधी उपचार भन्दा पनि मनोसामाजिक क्रियाकलापमा बिद्यार्थीहरुलाई सरिक बनाएर समाधान गर्न सकिने मनोपरामर्शकर्ता लोक बहादुर बिकले बताउनुभयो । ‘मनमा हुने डर, चिन्ता, उमेर अनुसार शारीरिक वृद्धिविकास बढेका कारण पनि यस्तो लक्षण देखा पर्ने गर्छ’ उहाँले भन्नुभयो ‘उनीहरुलाइ परामर्श प्रदान गर्दै शान्त वातावरण तथा सरसफाईमा ध्यान दिनु पर्दछ ।’

यस्ता विद्यार्थीहरूलाई शान्त वातावरणमा छुट्टै कक्षामा लगेर मनोपरामर्श दिनुपर्ने र उनीहरुको कुरा सुन्दै उनीहरुलाई उत्साहित, खुसी हुने खालका क्रियाकलाप सञ्चालन गरिनुपर्ने उहाँको भनाइ छ । चैत २७ गतेदेखी शुरु भएको बार्षिक परिक्षा बैशाख ५ गतेसम्म सञ्चालन हुने छ । कक्षा पाँच सम्म सञ्चालित यस बिद्यालयमा १ सय १ बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस