सिमावर्ती क्षेत्रका पिडा : लालपुर्जा च्यापेर बसाइसराइ

सल्यान ४, बैशाख ।

सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ७ काप्रेचौरका धनविर बुढाले ९ जनाको परिवार सहित बसाइँसराइ गर्नुभयो । काप्रेचौरको आमवासकै रेउते राणाले ६ जनाको परिवार सहित बसाइँसराइ गर्नुभयो । उहाँहरु जस्तै आमवासकै डाइबर राणाले पनि ५ जनाको परिवार सहित बसाइँसराइ गर्नुभयो ।

उहाँहरु सबै बर्दियाको बेलुवामा जानुभएको छ । गाउँमा भएका बिकास निर्माण देखी सेवा सुविधा प्रति असन्तुष्टि भएर वा बर्दियामा घर, जग्गा जमिन जोडेर बसाइँ सर्नुभएको होइन् । मात्रै कारण हो जंगली जनावरको आतंक । गाउँमा लगाएको अन्नवाली सबै जंगली जनावर आएर सखाप पारिदिने गरेपछि जग्गाको लालपुर्जा नै बोकेर गाउँबाट बसाइँसराइ सर्नेको संख्या बर्षेनी बढ्दै गएको छ ।

‘गाउँबाट बसाइँसराइ गरेर जानेको संख्या बढ्दैको छ’ स्थानिय पवित्रा पुनले भन्नुभयो ‘धनसम्पती जोडेर बसाइँसराइ गरेका कोही छैनन्, यहाँ बर्षभरी दुख गर्यो, बाली भित्र्याउने बेलामा जंगली जनावरले खेतीपाती सबै सखाप पारिदिन्छन्, बसाइँ सर्नु स्थानियको बाध्यता हो ।’ उहाँले यहाँका सबैले आफ्नो नाममा भएको जग्गा नै बाँझो छोडेर गएको बताउनुभयो ।

‘बसाइँसराइ गरेर गएका सबैका श्रीमानहरु भारतमा मजदुरी गर्छन्, अन्य सदस्यहरु अरुको मजदुरी गरेर परिवार पाल्दै आएका छन्, कतिपय त सपरिवार सहित कालापार छिरेका छन्’ उहाँले थप्नुभयो ‘सबैले लालपुर्जा साथमै लिएका छन्, यदी सरकारले कतै उचित व्यवस्थापन गर्छ कि भन्ने आसमा छन् ।’ सरकारले २०६७ सालमा काप्रेचौर क्षेत्रलाई समेत सिमानामा राखेर बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि जंगली जनावरबाट बाली र बस्तुभाउ जोगाउन मुश्किल भएर गाउँ छोड्नेको संख्या धेरै भएको उहाँको भनाइ छ ।

अर्का स्थानिय टेक बहादुर बिकले राष्ट्रिय निकुञ्जले जंगली जनावरको उचित व्यवस्थापन गर्न नसक्दा धेरैको उठिबास लागेको बताउनुभयो । ‘यो हाम्रो साझा समस्या हो, यदी हाम्रो पक्षमा निकुञ्जले काम गरेन भने दशौँ बर्षदेखी भोगचलन गर्दै आएको जग्गा जमिन बाँझो छोडेर जानुपर्छ’ उहाँले भन्नुभयो ‘लालपुर्जाको आधारमा बस्ती स्थानान्तण गरेको भए सपरिवार सहित कालापार जानुपर्ने बाध्यता कसैलाई हुन्थेन ।’

अहिले यस क्षेत्रका नागरिकहरुको बर्षेनी बसाइँसराइ गर्नेको लर्को धेरै छ । जसका कारण गाउँ बस्ती नै खाली हुन थालेका छन् । निकुञ्ज स्थापना हुनुपुर्व ४२ घरधुरी भएको आमवासमा अहिले १९ घरधुरी मात्रै छन् । उनीहरु पनि बसाइँसराइ गरेर जाने तयारीमा रहेको मध्यवर्ती वन उपभोक्ता समितीका अध्यक्ष डम्बर पुनले बताउनुभयो । एकातिर निकुञ्जले वनजंगल र वन्यजन्तुको संरक्षण गरेपनि अर्को तर्फ भने निकुन्ज क्षेत्र भित्र बसोबास गर्ने नागरिकको संरक्षण नहुदा उठिवास लागेको उहाँको भनाइ छ ।

कालिमाटी गाउँपालिका वडा नम्बर ५ र ७ मा पनि मध्यवर्ती क्षेत्रबाट कति नागरिकले बसाइँसराइ गरेर गएभन्ने एकिन तथ्यांक छैन् । तर बर्षेनी जग्गा जमिन बाँझै छोडेर गाउँ छोड्नेको संख्या धेरै भएको कालिमाटी गाउँपालिका ७ का वडाअध्यक्ष नैनसिंह रानाले बताउनुभयो । उहाँले मध्यवर्ती क्षेत्रमा खटिएका कर्मचारीको दादागिरी र जंगली जनावरकै कारण उनीहरुले गाउँ छोडेको बताउनुभयो ।

मध्यवर्ती क्षेत्रमा करि ४ सय घरधुरी रहेका छन् । यसअवधिमा करिब ८० बढी घरपरिवारले गाउँ छोडेर गएको उहाँको भनाइ छ । ‘यही क्रममा बसाइँसराइ गर्नेको संख्या रोकिएन भने अबको दश बर्षमा गाउँ शून्य हुने निश्चित छ, खेतीयोग्य सबै जमिन जंगलको रुपमा परिणत हुने छन्’ उहाँले भन्नुभयो ‘आफ्नै नाममा भएको जग्गा बाँझो छोडेर लालपुर्जा बोकेर गाउँ छोड्ने क्रमलाई राख्नुपर्छ ।’

निकुञ्ज र सरकार दुवैले स्थानियको सुरक्षा सहित बालीनाली जोगाउन विभिन्न कार्य सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस