सल्यानमा कृषि गणना हुदैँ

३१ हजार ९ सय ३० कृषक घरपरिवार छनौट : १६ सुपरिवेक्षक र ६३ गणक परिचालन हुने

सल्यान ५, बैशाख ।

सल्यानमा कृषि गणना गर्ने तयारी गरिएको छ । केन्द्रिय तथ्यांक विभाग अन्र्तगत रहेर जिल्ला कृषि गणना कार्यालय सल्यानले जिल्लामा बैशाख ६ गतेदेखी कृषि गणना गर्न लागेको जनाएको छ । राष्ट्रिय कृषिगणनाका लागि जिल्लामा १ सय ६८ वटा गणना केन्द्र तोकिएका छन् । प्रत्येक १०–१० वर्षको अन्तरालमा हुँदै आएको राष्ट्रिय कृषिगणना यस वर्ष पनि गर्न लागिएको हो ।

आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म करिब ४५ दिनको अवधिमा हुने राष्ट्रिय कृषिगणना कार्यका लागि १ सय ६८ वटा गणना केन्द्र कायम गरिएको जिल्ला कृषिगणना अधिकृत गंगा बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरेर दश पालिकामा ३१ हजार ९ सय ३० कृषक परिवार छनौट गरिएको छ । उहाँले कृषि गणनाका लागि जिल्लाभर १६ जना सुपरिवेक्षक र ६३ जना गणक परिचालन हुने बताउनुभयो ।

उहाँका अनुसार शारदा नगरपालिकामा १९ वटा, बागचौर नगरपालिकामा १९ वटा र बन्गाड कुपिण्डे नगरपालिकामा १९ वटा गणना केन्द्र निर्धारण गरिएको छ । यस्तै कुमाख गाउँपालिकामा १७ वटा, छत्रेश्वरी गाउँपालिकामा १७ वटा, कालिमाटी गाउँपालिकामा १७ वटा, कपुरकोट गाउँपालिकामा १६ वटा, त्रिबेणी गाउँपालिकामा १६, दार्मा गाउँपालिकामा १५ वटा र सिद्ध कुमाख गाउँपालिकामा १३ वटा कृषि गणना केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय जनगणना २०७८ का आधारमा कृषि गणना गर्न गणना केन्द्र निर्धाण गरिएको हो ।

‘जिल्लामा तोकिएको गणना केन्द्रमा मात्रै कृषि गणना हुन्छ जिल्लाकै केही वडाहरु समेत छुटेका छन्, यो पुर्ण गणना होइन्, राष्ट्रिय जनगणनालाई आधार मानेर यस गणना गर्न लागिएको छ’ उहाँले भन्नुभयो ‘जिल्लामा कम्तीमा ४ आना क्षेत्रफलमा बाली लगाएको भएमा, वा जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी जस्ता ठूला चौपाया पालेको भएमा, वा कम्तीमा ५ वटा भेडा–बाख्रा जस्ता साना चौपाया पालेको भएमा, वा माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस) पालेको भएमा कृषक परिवारको रुपमा गणना हुन्छ ।’

‘पहिलो चरणमा गणकहरुद्वारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्युनतम मापदण्ड पुरा गरेका कृषक परिवारहरुको सूचीकरण कार्य गरिन्छ’ उहाँले थप्नुभयो ‘दोस्रो चरणमा निश्चित तथ्यांकिय छनौट विधिबाट सुपरिवेक्षकहरुद्वारा छानिएका कृषक परिवारमा पुगी गणकहरुद्वारा कृषक परिवार प्रश्नावली फाराम मार्फत कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरण लगायत विविध बिषयसम्बन्धी विस्तृत विवरणहरु संकलन गरिने छ ।’

‘कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार ः कृषि योजना र विकासको मूल आधार, पारौँँ कृषि गणना २०७८ साकार’ भन्ने नाराका साथ गणना गरिदैँ छ । जसमा खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने छ ।

यस्तै कृषि गणनामा जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिने छ । यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध हुने जनाईएको छ । गणकले छानिएका परिवारमा पुगेर विवरण ल्याउँछन् भने सुपरीवेक्षकहरुले सामुदायिक प्रश्नावलीबाट विवरण संकलन गर्नेछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस