सल्यान ९, बैशाख ।
उम्मेदवारी मनोनयनको समय नजिकिदैँ गर्दा सल्यानमा स्थानीय तह निर्वाचनको शरगर्मी ह्वात्तै बढेको छ । यतिबेला मुख्य दलीय स्थानीय नेता÷अगुवा कार्यकर्ता चुनावी रणनीतिक खाँका कोर्न व्यस्त छन् । बैशाख ११ र १२ गते स्थानीय सरकारका निम्ति चुनाव हुँदैछ । उता आकांक्षीहरू पनि पार्टीभित्र आफू दर्बिलो उम्मेदवार भएको देखाउन खोज्दैछन् । गठबन्धनमा आवद्ध दलहरु उम्मेदवारी टुंगाउने कसरतमा छन् ।
नेकपा एमाले र राप्रपा लगाएतका दलले केही स्थानिय तहमा उम्मेदवारको टुंगो लगाएको भएपनि सत्तारुढ गठबन्धनले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन् । जसका कारण पार्टी भित्र उम्मेदवारीका आकांक्षिहरु पनि बढ्दै गएका छन् । जिल्लामा गठबन्धनमा आवद्ध दलहरुको पटक पटक बस्दै आएका बैठकहरु निश्कर्ष बिहिन बनेका छन् ।
राजनितिक दलहरुले उम्मेद्धवारको टुंगो नलगाएपनि जिल्ला निर्वाचन कार्यालयले बिहीबार जिल्लाका सबै पालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै निर्वाचन केन्द्रित माहोल बढ्दै गएको हो । कार्यालयले उम्मेदवारी मनोनयन सम्मका सबै तयारी पुरा भएको जानकारी दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले निर्वाचलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्नको लागि जिल्लास्तरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य सबै पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । शारदा नगरपालिका हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायधिश कुलप्रसाद पाण्डेले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ ।
यस्तै बागचौर नगरपालिकामा राजेन्द्र प्रसाद पोखरेल, बन्गाड कुपिण्डे नगरपालिकामा लक्ष्मी शर्मा, कपुरकोट गाउँपालिकामा हेमन्त ज्ञवाली, कालिमाटी गाउँपालिकामा मनोहर घिमिरे, कुमाख गाउँपालिकामा रामहरी रिजाल, छत्रेश्वरी गाउँपालिकामा जयप्रसाद धिताल, दार्मा गाउँपालिकामा पवनकुमार तिमिल्सेना, सिद्धकुमाख गाँपालिकामा शंकरप्रसाद अधिकारी र त्रिवेणी गाउँपालिकामा बाबुराम नेपालीले निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ ।
ती सबै निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन केन्द्रित गतिविधि सञ्चालन भैरहेका छन् । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जिल्लाका ३८ वटा मतदान स्थल अति सम्बेदनशिल रहेको जानकारी दिनुभयो । यस्तै ५७ वटा मतदान स्थल सम्बेदनशिल र १९ वटा मतदान स्थल सामान्य रहेको उहाँको भनाइ छ । यसपटकको निर्वाचनमा जिल्लाभर १ सय १४ मतदान स्थल र २ सय १ मतदान केन्द्र रहने छन् ।
निर्वाचनको समयमा मतदाताले सहज रुपमा मतदान गर्ने वातावरण बनाउनका लागि ती मतदान केन्द्रहरुको निरक्षण गरिएको र सोही अनुसार सुरक्षाकर्मी परिचालन हुने उहाँको भनाइ छ । यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको केही संख्या माग गरिएको उहाँले बताउनुभएको छ ।
आगामी स्थानिय तहको निर्वाचनका लागि जिल्लाभर १ लाख ५७ हजार ७ सय १५ मतदाता रहेका हुन् । जसमा पुरुष मतदाता ७९ हजार ९ सय ४ रहेका छन् भने महिला मतदाता ७७ हजार ८ सय ११ रहेका छन् ।