सल्यान १९, बैशाख ।
सल्यानमा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको छ । यही बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाभरमा नै अबैध घरेलु मदिरा नियन्त्रण गरेर नष्ट गर्न थालेको हो । घरेलु मदिरा सेवनकै कारण समाजमा अशान्ति फैलिदैँ जाने र आसन्न स्थानिय तहको निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न समस्या हुने भएपछि जिल्लाभर नै अभियान सञ्चालन गरिएको हो ।
जिल्लाका बिभिन्न वजारक्षेत्रहरुबाट गरेर २ हजार १ सय लिटर बढी घरेलु मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरीको भनाइ छ । जसअनुसार ७ सय ५५ लिटर तयारी अवस्थामा रहेको घरेलु मदिरा र १ हजार ३ सय ८६ लिटर कच्चा पदार्थ जाँड गरेर २ हजार १ सय ४१ लिटर घरेलु मदिरा नष्ट गरिएको हो ।
जसमा जिल्लाको सदरमुकाम खलंगा स्थित पुरानो बसपार्क, साहुटोल, जैतपानी, मार्के, दुलधारा पोखरा लगाएतका स्थानबाट तयारी घरेलु मदिरा ४ सय लिटर, मदिराको कच्चा पदार्थ जाँड ७ सय लिटर र तीन सेट मदिरा बनाउन प्रयोग हुने भाँडा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस्तै जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ सल्लीवजारबाट तयारी घरेलु मदिरा ५० लिटर, मदिराको कच्चा पदार्थ जाँड ३ सय लिटर र एक सेट मदिरा बनाउन प्रयोग हुने भाँडा प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै बागचौर नगरपालिकाको थारमारे र बागचौर क्षेत्रबाट तयारी घरेलु मदिरा १ सय ८५ लिटर, कच्चा पदार्थ जाँड ८० लिटर र भाँडा दुइ सेट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै जिल्लाको शारदा नगरपालिका १ श्रीनगर बजार क्षेत्रबाट तयारी घरेलु मदिरा १ सय ५ लिटर, कच्चा पदार्थ ३ सय लिटर र तीन सेट भाँडा तथा कपुरकोट गाउँपालिका ५ रिमबाट तयारी घरेलु मदिरा १५ लिटर र मदिरा वनाउन प्रयोग गरिने कच्चा पदार्थ ६ लिटर नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता, इनिष्पेक्टर बिक्रम कुवरले स्थानिय तह निर्वाचनको समयमा समाजमा घरेलु मदिराकै कारण झैझगडा हुने, समाज अशान्त हुने र स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नमा समेत समस्या हुने भएकाले मदिरा नियन्त्रण गर्न लागिएको बताउनुभयो । उहाँले निर्वाचनको बेला एक्कासी मदिरा नियन्त्रण गर्न नसकिने भएकाले अहिले देखी नै जिल्लाभर अभियान सञ्चालन गरिएको बताउनुभयो ।