जताततै अखाद्य वस्तु

व्यवसायीले म्याद नाघेका खाद्यवस्तु बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिरहेका छन् ।

सल्यान २०, बैशाख ।
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाइ लक्षित गर्दै सल्यानमा वजार अनुगमण गर्न थालिएको छ । जिल्लाको सदरमुकाम खलंगा बजारबाट वजार अनुगमण गर्न थालिएको हो । स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर जिल्लाका दश वटै स्थानिय तहमा पुगेर वजार अनुगमण गरिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

सोही क्रममा सोमबार जिल्लाको सदरमुकाम खलंगा स्थित डाँडागाउँ, पुरानो बसपार्कमा रहेका खाद्यान्न तथा किराना पसलहरुमा अनुगमण गरिएको छ । अनुगमण गरिएका ९ वटा पसल मध्ये ८ वटा पसलमा अखाद्य बस्तु भेटिएको छ । ती पसलहरुबाट प्याकेजिङ गरिएका सामाग्रीहरु चाउचाउ, दालमोट, कुरमुरे लगाएतका म्याद गुज्रेका बस्तुहरु फेला परेका हुन् ।

जिल्लाको सदरमुकाममा नै एकैदिन गरिएको अनुगमणबाट धेरै खाद्यान्न पसलहरुमा अखाद्य बस्तुहरु भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती खाद्यान्न पसलहरुबाट गरेर करिब ९ हजार ७ सय बराबरका बस्तुहरु जफत गरेर नष्ट गरिएकोे छ ।

आमउपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियमविपरीत मूल्य, म्याद नाघेका खाद्य वस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको उहाँको भनाइ छ । बजार अनुगमनका क्रममा खाद्य पदार्थमा चाउचाउ, बिस्कुट, मसला, दालमोट प्रायः बढी मात्रामा म्याद गुज्रेका भेटिएको उहाँले जानकारी दिनुभयो ।

उपभोक्ताहरुले सामग्री खरिद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न उक्त अनुगमन समितिले सुझाव दिएको छ । ‘बजारमा अनुगमन गर्दा आधारभूत रूपमा राम्रो देखिए पनि केही पसलमा तौलका ढकहरुमा खिया लागेको भेटियो, केही व्यवसायीले पुरानै मुल्य सुची टाँसेर पसल सञ्चालन गरेको पाइएको छ, उपभोक्ताले सामग्री खरिद गर्दा ध्यान दिन जरुरी छ’ उहाँले भन्नुभयो ।

उक्त अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे–नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय, शारदा नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रहरी कार्यालय लगाएत सरोकारवालाहरुको टोलीले अनुगमण गरेको थियो ।

जिल्लाका सरोकारवालाहरुले भने जिल्लाको सदरमुकाममा नै थुप्रै मात्रामा अखाद्य बस्तु भेटिएकाले ग्रामिण क्षेत्रको अवस्था झन् भयाभह हुनसक्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस