सल्यान २१, बैशाख ।
सल्यानको शारदा नगरपालिकामा संयुक्त गठबन्धनले महत्वकांक्षी योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । बुधबार जिल्लाको सदरमुकाम खलंगामा पत्रकार सम्मेलन मार्फत नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनले प्रतिवद्धता सार्वजनिक गर्दै नगरभित्रका नागरिकलाइ एक सय युनिटसम्म बिजुली निशुल्क देखी आधुनिक सिटी हल निर्माण सम्मका योजनाहरु अघि सारेको छ ।
नगरमा सुशासन कायम गर्ने, कृषिलाई प्राथामिकता दिदैँ वातावरणमैत्री पुर्वाधार निर्माण गरिनेपनि उल्लेख गरिएको छ । जसमा हरित सडक सञ्जाल निर्माण गरिने, पर्यटन पदमार्ग निर्माण, घुगुतिडाँडा खैरावांग झोलुगें पुल तथा प्याराग्लाइडिंगको लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।
यस्तै शिक्षा र स्वास्थ्यमा लगानी गर्दै खरको छानामुक्त नगर निर्माण गरिने, एक घर एक धारा तथा ५ हजार लिटर निशुल्क खानेपानीको व्यवस्था, क्लिन शारदा, ग्रिन शारदा अभियान सञ्चालन गरिने, बालमैत्री स्थानिय शासनको पुर्ण पालना गरिने लगाएतका बिभिन्न क्षेत्रहरु प्रतिवद्धता पत्रमा समाबेश गरिएको छ ।
सो अवशरमा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार प्रमोद श्रेष्ठ र नेकपा एकीकृत समाजवादीको तर्फबाट उपमेयरका उम्मेदवार रमेश गौतमले समृद्ध नगर निर्माणको लागि प्रतिवद्धता पत्रमा समावेश गरिएका सबै योजनाहरुलाइ पाँच वर्षको अवधिमा पुरा गर्न सकिने बताउनुभयो ।