सल्यानका उम्मेदवारहरुको नमुना काम : मतदाता शिक्षा दिँदै, मत माग्दै

मतदाताहरुलाई मतदान गर्न सिकाउदैँ उम्मेदवार

सल्यान २४, बैशाख ।
स्थानिय तह निर्वाचनको मिती नजिकिदैँ गर्दा सल्यानमा चुनावी माहोल थप तातिएको छ । पालिका तथा वडाहरुमा उम्मेदवारी दिएका उम्मेदवार देखी केन्द्रियस्तरका नेतासँगै सिंगो पार्टी र कार्यकर्ताहरु चुनावमा होमिएका छन् । यस पटकको निर्वाचनलाई केही पार्टीले प्रतिष्ठाको लडाईको रुपमा लिएका छन् भने केही पार्टी आफ्नो साँख जोगाउने कसरतमा रहेका छन् ।

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले पालिकास्तरमा सबैभन्दा ठुलो पार्टी को बन्ने भनेर प्रतिष्ठाको लडाइका रुपमा लिएका छन् । जसका लागि नेकपा माओवादी केन्द्रले केही पालिकामा नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ भने नेपाली काँग्रेसले केही पालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । जिल्लामा नेकपा एमाले विभाजन पुर्व ठुलो शक्तिको रुपमा रहेको भएपनि पार्टी बिभाजन पछि भने नेकपा एकीकृत समाजवादी र नेकपा एमाले आफ्नो साँख जोगाउने कसरतमा रहेका छन् ।

जसका कारण जिल्लाका सबै पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावी कार्यक्रम लिएर घरदैलोमा गएका छन् । पार्टी एक्लै चुनाव लडेको अवस्थामा मतदाताहरुलाई मतदान गर्न केही सहज भएपनि चुनावी तालमेल भएका क्षेत्रमा फरक फरक पार्टीका उम्मेदवारलाई फरक फरक पदमा मतदान गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा धेरै मत बदर हुने सम्भावना रहेको आँकलन गरिएको छ ।

जिल्लामा बदर मत कम गर्न केहीदिनदेखि निरन्तर घरदैलोमा रहेका उम्मेदवारहरुले मत माग्दै आम मतदातालाई मत खसाल्न पनि सिकाएर उदाहरणीय काम गर्न थालेका छन् । निर्वाचन आयोगले यस बर्षको निर्वाचनमा मतदाता शिक्षा सञ्चालन नगरेकाले दलहरुलाइ मतदाता शिक्षा प्रदान गर्न हम्मेहम्मे परेको बताएका छन् । नमुना मत पत्र नै बोकेर अहिले दलहरुले मतदान गर्ने तरिकाका बारेमा मतदाताहरुलाई सिकाइ रहेका छन् ।

‘हामी मत माग्न घरमा जान्छौँ र फर्कने बेलामा भोट खसाल्न आउँछ भनेर पनि सोध्छौँ ? धेरैले सिकाइदिनु होस् न भनेर भन्नुहुन्छ अनि हामी त्यो पनि सिकाउँदै हिँडिरहेका छौँ । धेरै युवा विद्यार्थी पहिलो पटक मत खसाल्दै हुनुहुने रहेछ’ एक उम्मेदवारले भन्नुभयो । ‘उहाँहरुलाई केही पनि थाहा रहेनछ, हामीले सिकाएपछि उहाँहरु खुसी पनि हुनुभएको छ ।’ आफ्नो पक्षमा नतिजा ल्याउन र वदर मतको संख्यामा कमी ल्याउनको लागि पनि मत माग्दै मतदाता शिक्षा प्रदान गरिरहेको ती उम्मेदवारको भनाइ छ ।

जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले विगतका निर्वाचन जस्तो मतदाता शिक्षा भनेर यस पटक छुट्टै कार्यक्रम नभएको र मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी राजनितिक दलहरुलाइ नै भएको बताउनुभयो । उहाँले मतदाता शिक्षा प्रदान गर्ने दायित्व राजनितिक दलकै भएको र दलहरुले मतदाता शिक्षा प्रदान गरेमा थप प्रभावकारी हुने बताउनुभयो । जसका कारण मतदाता शिक्षा सम्बन्धि खर्च पनि कम भएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस