संयुक्त गठबन्धनको चुनावी सभा सिद्ध कुमाखको छापडाँडामा सम्पन्न

सल्यान २५, बैशाख ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाको छापडाँडामा संयुक्त चुनावी सभा सम्पन्न भएको छ । आगामी स्थानिय तह निर्वाचनका लागि यस गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका छन् । जसअनुसार संयुक्त निर्वाचन परिचालन समितिको आयोजनामा वडा नम्बर ४ र ५ को चुनावी आमसभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनुभएका प्रमुख अतिथि टेकबहादुर बस्नेतले स्थानीय सरकार सुरु गर्दा पहिले कर्मचारी, संरचना अभाव र कानुनको अनुभवको अभावमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले सोचेअनुसारको काम गर्न नसकेको भएपनि अहिले कामगर्नका लागि ती संरचना निर्माण गरिएको बताउनुभयो । अहिले पार्टी पनि बलियो भएको र बितेका ५ वर्ष आफुहरु घिस्रिदै आएको र अबका वर्षमा कुदेर जाने समेत उहाँले बताउनुभयो । बस्नेतले अब पालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार अनुभवी भएकाले पनि सिद्ध कुमखको विकासले गति लिने बताउनुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चित्र बहादुर चलाउनेले पालिकालाई समृद्ध बनाउने भिजन आफुसँग भएको बताउनुभयो । आफुले ५ वर्षको अवधिमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरेको समेत उहाँले बताउनुभयो । आफुले ५ वर्षको अवधिमा पालिकाको विकासको लागि कसरी काम गर्न सकिन्छ सबै अनुभव रहेको बताउदै अब गर्ने विकासको विषयमा आफुले सबै तयारी गरेको समेत बताउनुभयो ।

यस्तै पालिका उपाध्यक्ष पदका उम्मेदवार राम बहादुर बस्नेतले आफुले ५ वर्षको अवधिमा वडा सरकार चलाएकोले पालिकाको विकास कसरी गर्ने अनुभव भएको र समस्या टिपेर राखेको र त्यसको सावधान गरिने बताउनुभयो । कार्यक्रममा ५ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार खर्क सिहं रोका, वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार गिर्दल रावत, गठबन्धन संयन्त्र समितीका सदस्य लोक बहादुर बिक, निर्वाचन परिचालन समितीका सदस्य नरवीर चलाउने लगाएतले बोल्नुभएको थियो ।

संयुक्त चुनाव परिचालन कमिटीका संयोजक रुद्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सह–संयोजक नन्दलाल बोहराले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मनवीर बस्नेतले गर्नुभएको थियो । त्यस्तै बैशाख २६ गते ढोरचौरमा पालिका स्तरीय वृहत् आमसभा गरिने चुनाव प्रचार प्रसार समितिले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस