मतदाता भन्छन् : ‘कुरा होइन्, काम गर्नेलाई भोट दिन्छौँ’

घर–दैलोमा नेता

सल्यान २५, बैशाख ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सल्यानमा दलहरु तीव्र गतिमा लागेका छन् । मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएर चुनाव चिन्ह पाएसँगै जिल्लामा क्रियाशिल बिभिन्न राजनितिक दलहरु प्रतिस्पर्धी र आफ्ना उम्मेदवारको पक्षमा मत जुटाउन लागेका छन् । निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा सदरमुकाम खलंगा सँगै गाउँ बस्ती सम्म राजनीतिक माहोल तातिएको छ ।

चुनावी घोषणा पत्र, प्रतिबद्धता र संकल्प पत्रहरु लिएर दल तथा उम्मेदवारहरु सर्वसाधारणको घरदैलो गरिरहेका छन् । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा नदिए पनि दलहरु भने आफ्नो चिन्हमा मतदान गर्न सिकाउँदै गाउँ पसेका हुन् । आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दलहरुलाई यस अघिका निर्वाचनमा जस्तो सहज भने छैन । सूचना प्रविधिको विकास, चेतनाको विकास र सामाजिक सञ्जाल लगायतका क्षेत्रमा भएको विकासले उम्मेदवार र दलहरुलाई जवाफदेही बनाउनेछन् ।

पटक–पटक आश्वासनमा मतदान गरेका सर्वसाधारण यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उमेद्वारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन् । पटक–पटकका निर्वाचनमा गरेका प्रतिबद्धता र जिते वा हरेपछिका कामका विषयमा यो पटक सर्वसाधरण प्रश्न गर्ने मुडमा छन् ।
स्थानीय तह नजिकको सरकार हो । नजिकको सरकारका काम सर्वसाधारणले नजिकबाट नियालिरहेका हुन्छन् । यसपटक मतदाता मत माग्न पुग्ने उम्मेदवारसँग विगतका काम र भावी योजनाको फेहरिस्त माग्ने तयारीमा छन् ।

आफ्नो कार्यकालमा पुरा हुनै नसक्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख नगर्न मतदाताको माग छ । स्थानीय तहमा जनप्रतिनिधि हुनेले निर्वाचित भएपछि आफु र आफ्नाहरुको मात्रै सेवामा लाग्दिन भनेर प्रतिबद्धता पत्रमा उल्ले गर्नुपर्ने सर्वसाधारणको माग छ । नयाँ पुस्तामा आएको सचेतना र विकासप्रतिको मोहले जुझारु र विकासप्रेमी उम्मेदवार यस पटकको निर्वाचनमा विजयी हुने स्थानियको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस