सल्यानमा पानीको शुद्धता परिक्षण

 

सल्यान ७, जेठ ।
सल्यानमा नै पहिलो पटक पानीको शुद्धता परिक्षण थालिएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यान मार्फत जिल्लामा नै पहिलो पटक पानीको शुद्धता परिक्षण गर्न थालिएको हो । यसअघि जिल्लामा ‘वाटर टेस्ट किट’ नहुदाँ पानीको शुद्धता परिक्षणका लागि नेपालगन्ज, काठमाण्डौँ लगाएतका स्थानमा पठाउनुपर्ने बाध्यता रहेको थियो ।

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने उद्धेश्य अनुरुप प्रदेशका दश जिल्लामा पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरण पठाएको थियो । जसले गर्दा जिल्लामा नै पानीको शुद्धता परिक्षण गर्न थालिएको कार्यालय प्रमुख पदम राज देवकोटाले जानकारी दिनुभयो ।

मेसिनलाई रु दुई लाख ९० हजारमा खरिद गरेर मन्त्रालयले जिल्लामा पठाएको उहाँको भनाइ छ । ‘जिल्लाका पालिकामा माग भएअनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गरिने छ’ उहाँले भन्नुभयो ‘फोहर पानी पिउँदा धेरैलाई पानीजन्य रोग देखा पर्दछ, जिल्लामा नै पानी परिक्षण गर्ने यन्त्र नहुदाँ समस्या पनि थियो, अव पानीको शुद्धता परिक्षण गर्न जिल्ला बाहिर जानुपर्दैन, नागरिकले माग गरेअनुसार परिक्षण गर्ने व्यवस्था छ ।’

यस मेसिनबाट पानीको धमिलोपना, अम्लियपना, क्षारियपना सँगै पानी पिउन योग्य छ कि छैन भनेर पत्ता लगाइन्छ । ‘जिल्लामा दशौँ बर्ष देखी नागरिकहरुले मुहानबाट पाइप राखेर घरैमा पानी ल्याएर प्रयोग गरिरहेका छन्, सरकारी तवरवाट सम्पन्न भएका थुप्रै्र योजनाहरु छन्, तर कतिपय स्थानमा पानीको शुद्धता परिक्षण नगरेरै प्रयोग गरेको पाइएको छ, यसले मानव स्वास्थ्यमा असर गर्दछ’ उहाँले भन्नुभयो ‘खानेपानीका ती पुराना योजनाहरुको पानी पिउन योग्य छ कि छैन भनेर परिक्षण गर्ने व्यवस्था मिलाउँछौँ ।’

उहाँले जिल्लामा रहेका पानीका मुहानहरुको पानी तराई क्षेत्रको जस्तो अशुद्ध नभएपनि चुना मिसिएको पानी धेरै भएको बताउनुभयो । ‘जिल्लाको त्रिबेणी, कालिमाटी, कुमाख लगाएतका क्षेत्रमा चुना मिसिएको पानी छ, ढुंगाका विचबाट पानी निस्किने भएकाले पनि चुना मिसिएको पाइन्छ, चुनामा कारण पानीका पाइप फुट्ने, पानी बन्द हुने समस्या हुन्छ’ उहाँले थप्नुभयो ‘यस्तो पानी खानै नमिल्ने त होइन् तर कपाल झर्ने लगाएतका समस्या आउनसक्छन् ।’

उहाँले जिल्लाका २० प्रतिशत नागरिक पिउने पानीको पहुँच बाहिर रहेको पनि बताउनुभयो । संघिय, प्रदेश र स्थानिय तहको वजेट मार्फत सञ्चालन गरिएका योजनाहरुको आधारमा जिल्लाका ६० प्रतिशत नागरिक मात्रै शुद्ध पिउने पानीको पहुँचमा रहेको र ८० प्रतिशत नागरिक पिउने पानीको पहुँचमा रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस