राप्ती राजमार्गको स्तरोन्नति हुनेमा आशंका

सडक स्तरोन्नतिमा ३ अर्ब १२ करोड विनियोजन

सल्यान १७, जेठ ।
राप्ती राजमार्ग अन्र्तगत दाङ–सल्यान–रुकुम सडक खण्डको स्तरोन्नति हुनेमा स्थानियले आशंका व्यक्त गरेका छन् । राप्ती राजमार्ग अन्र्तगत पर्ने सडकको स्तरोन्नतिको लागि भन्दै आइतवार संघीय सरकारले वजेट विनियोजन गरेको छ । तर हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती पाउदैँ आएका स्थानियले दाङ–सल्यान–रुकुम सडकको स्तरोन्नति भएर सहज रुपमा आउजाउ हुनेमा आशंका व्यक्त गरेका छन् ।

सरकारले विगतका बर्षहरुमा पनि यस सडकको स्तरोन्नतिको लागि भन्दै करोडौँ वजेट विनियोजन गर्दै आएको थियो । अमेलियादेखि रुकुमसम्म झण्डै १ सय ६८ किमी सडक पर्दछ । बर्षेनी यस सडकलाई चौडा बनाउदैँ स्तरोन्नति गर्नका लागि करोडौँ रुपैँया खर्च भएपनि देखिने गरि काम भएको छैन् भने नागरिकले पनि सहज रुपमा आउजाउ गर्न पाएका छैनन् । बरु बर्षेनी सडक स्तरोन्नतिको नाममा गरिने मर्मसम्भारले सडक झन् जीर्ण बन्दै गएको छ ।

आइतवार अर्थमन्त्री जर्नादन शर्माले वजेट भाषण गर्दै राप्ती राजमार्ग सहितका चार वटा सडकको स्तरोन्नतिका लागि रु. ३ अर्व १२ करोड रुपैँया विनियोज भएको घोषणा गर्नुभयो । ‘भेरि करिडोरको जाजारकोट–दुनै–मरिम, तिन्जे–धो खण्ड, सेती राजमार्गको टिकापुर–लोडे–चैनपुर–ताक्लाकोट, नाग्मा–गमगढी खण्डको स्तरोन्नति, राप्ति राजमार्ग अन्र्तगत अमेलिया–तुल्सिपुर–सल्यान–मुसिकोट–छरेबगर खण्ड र शहिदमार्ग अन्र्तगत घोराही–थवाङ–मैकोट खण्डको लागि रु. ३ अर्व १२ करोड विनियोजन गरेको छु’ वजेट भाषणमा शर्माले भन्नुभएको छ ।

सरकारले बर्षेनी वजेट विनियोजन गर्ने, ढिला गरेर कामको शुरुवात हुने र आउजाउ गर्दा सधैँ नागरिकले सास्ती पाएपछि यसपटकको वजेटबाट सडकको स्तरोन्नति हुने र सहजै आउजाउ गर्न पाउनेमा नागरिकले शंका गरेका छन् । ‘बर्षेनी बजेट विनियोजन हुन्छ, अव त कष्टकर यात्रा गर्नुपर्दैन भनेर हामी खुुसी हुन्छौँ’ कपुरकोट निवासी गिता बोहराले प्रश्न गर्र्दै भन्नुभयो ‘सडक झन् विग्रदै गएको छ, वजेट भाषणको दिन यस सडकमा वजेट प¥यो भनेर खुसी हुन्छौँ, बाँकी दिन फेरी कष्टकर र जोखिमयुक्त यात्रा गर्छौ, आखिर यो अहिलेसम्म ?’

अर्का स्थानिय डिल्ली केसीले राप्ति राजमार्गको तुल्सिपुर–कपुरकोट खण्ड जोखिमयुक्त भएकाले सरकारले सोही अनुरुपको वजेट विनियोजन गरेको भए राम्रो हुने बताउनुभयो । ‘रोल्पा सिमेन्टका कपुरकोट वजार हुदैँ चल्ने टिप्परकै कारण सडकको अवस्था जीर्ण भएको हो, सरकारले टिप्परलाई वैकल्पिक मार्गबाट आउजाउ गर्ने व्यवस्थाका लागि वजेट विनियोजन गरेको भए राम्रो हुनेथियो’ उहाँले थप्नुभयो ‘ओभर लोडकै कारण सडक जीर्ण बनेको छ ।’

गाडी चालक पारश शर्माले टिप्परको आउजाउ बन्द नहुदाँ सम्म राप्ति राजमार्गमा जति वजेट खर्च गरेपनि सुधार नहुने बताउनुभयो । ‘अमेलिया–तुल्सिपुर सम्म सडक राम्रो छ, यता सल्यानको श्रीनगर देखी रुकुम तीरको भाग पनि सन्तोषजनक नै छ तर तुल्सिपुर–कपुरकोट सडक अत्यन्तै जीर्ण छ’ उहाँले भन्नुभयो ‘जीर्ण सडककै कारण दुर्घटनाको जोखिम छ, सवारीसाधन विग्रिने सम्भावना त्यतिकै हुन्छ, समयमा नै गन्तव्यमा पुग्न पनि सकिदैँन् ।’

केही स्थानियले भने बर्षेनी सडकको ठाँउ–ठाउँमा मर्मत गरिहनुभन्दा एकैपटक सडक चौडा बनाउदैँ नाला सहित कालोपत्रे गर्नुपर्ने बताएका छन् । यसैविच मदन भण्डारी लोकमार्गले सल्यानलाई पनि छुने भएको छ । मदन भण्डारी लोकमार्ग रोल्पाबाट दाङ हुँदै लिने की रोल्पा सल्यान हुँदै जाने भन्नेमा लामो समयदेखि विवाद हुँदै आइरहेको थियो । तर निर्माणाधिन मदन भण्डारी राजमार्गको गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान सुर्खेत खण्डको स्तरोन्नति गरिने भएको हो । यसका लागि संघीय सरकारले २ अर्व ९१ करोड रुपैँया विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस