सल्यान १९, जेठ ।
सल्यानको कालिमाटी गाउँपालिका ७ ¥याङ निवासी पवित्रा पुन विगतमा मानिसको अगाडि गएर बोल्न डराउनुहुन्थ्यो । पिपलचौतारा सामुदायिक समुहको अध्यक्षको जिम्मेवारीमा रहेर समुदायको परिवर्तनका लागि सक्रिय बन्नुभएकी उहाँ अहिले समाज रुपान्तरणमा मात्र होइन, विकास निर्माणका काममा समेत अग्रणी भूमिकामा देखिनुहुन्छ ।
महिलाहरुले चुलोचौको हुदैँ घरायसी काम मात्रै गर्नुपर्ने र विकास निर्माणका कार्यहरुमा पुरुषहरु मात्रै सक्रिय भएर लाग्नुपर्छ भन्ने सोचाईलाइ चिर्न पवित्रा जस्तै यहाँका दर्जनौँ महिलाहरु सक्रिय भएका छन् । विकास निर्माणका कार्यमा महिलाहरुलाई नामका लागि मात्रै सहभागि बनाउने र अन्य सबै कार्य पुरुषले गर्नुपर्छ भन्ने मान्यतालाई अन्त्य गर्दै यहाँका महिलाहरुले आफ्नै नेतृत्वमा विकास निर्माणका कार्य शुरु गरेका हुन् ।
यसको एउटा उदाहरण हो ¥याङ स्थित बबई नदिको किनारमा निर्माण गरिएको दुर्गा मन्दिर । कालिमाटी गाउँपालिकाले चालु आर्थिक बर्षमा मन्दिर निर्माणको लागि तीन लाख रुपैँया विनियोजन गरेको थियो । मन्दिर निर्माणका लागि पुरुषहरुले नै उपभोक्ता समिती गठन गर्ने र उनीहरुले कार्य सम्पन्न गर्ने योजना बनाएका थिए । तर स्थानिय महिलाहरुको सक्रियतामा उपभोक्ता समितीको अध्यक्ष, सचिव, कोषाध्यक्ष सँगै सबै पदमा महिलालाई सहभागि बनाएर मन्दिर निर्माण गरिएको छ ।
‘मन्दिर निर्माणका लागि तीन लाख रुपैँया विनियोजन भएको थियो, तर पुरुषले नै निर्माणको जिम्मेवारी लिने चर्चा चलिरहेको थियो’ अध्यक्ष पुनले भन्नुभयो ‘मन्दिर निर्माणको जिम्मेवारी महिलाले नै लिनुपर्छ भनेर आवाज उठायौँ, समितीमा महिलाहरु मात्रै बस्यौँ, मन्दिर निर्माण देखी रंगरोगनका सबै काम महिलाहरुले सम्पन्न गरेका हौँ ।’ आँट गरेर विकास निर्माणका कार्यको थालनी गर्न सकेको खण्डमा काम गर्न कुनै समस्या नभएको उहाँको भनाइ छ ।
‘महिलाहरुले कस्तो काम गर्लान् भनेर सबैले शुरुमा निधार खुम्च्याएका थिए, तर स्टामेट अनुसार नै काम सम्पन्न भएपछि पुरुषहरु पनि दंग परेका छन्’ उहाँले भन्नुभयो ‘योजनाबाट आर्थिक लाभ लिनुपर्छ भन्ने कसैले सोचन्, पारदर्शीकता नै हाम्रो पहिलो प्राथामिकता थियो ।’ उहाँले तोकिएको समयमा नै मन्दिर निर्माण सम्पन्न गरेको बताउनुभयो । समाजमा हुने विकास निर्माणका कार्यहरुको जिम्मेवारी नै लिएर आफुहरु काम गर्न सफल भएको उहाँको भनाइ छ ।
कालिमाटी गाउँपालिका ७ का संस्थापक वडाअध्यक्ष नैनसिंह राणाले विकास निर्माणका हरेक कार्यमा महिला सहभागिता बढ्दै गएको बताउनुभएको छ । ‘शुरुमा विकासको नेतृत्व लिनबाट पन्छिन खोज्ने महिलाहरु अहिले आफै अग्रसर बन्दै जानुभएको छ’ उहाँले भन्नुभयो ‘विकास निर्माणमा समेत पुरुष र महिलाको समान सहभागिता हुनुपर्छ भन्ने कार्यको थालनी भएको छ ।’
दलित विकास समाज सल्यानद्धारा सञ्चालित शुसासनमा नागरिक सहभागिता परियोजना सञ्चालन भएपछि ¥याङका महिलालाई क्षमता विकास सँगै महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, जस्ता विषयमा अभिमुखिकरण सञ्चालन गरिएको र त्यसपश्चात महिलाहरु समाज परिवर्तनसँगै विकास निर्माणका कार्यमा सक्रिय बन्दै गएको स्थानिय बताउँछन् ।