सामुदायिक बिद्यालयको दुर्दशा : न बिद्यार्थी, न शिक्षक


सल्यान २०, जेठ ।
रेशाविहिन अदुवाले प्रख्यात ठाउँ हो सल्यानको शारदा नगरपालिका–१४ ढारखानी । त्यही ढारखानी गाउँको विचमा छ कालिका प्राथामिक बिद्यालय । जीर्ण अवस्थामा रहेको बिद्यालय भवन, चर्किएका बिद्यालयका भित्ता, धुलैधुलोको भुई बसाई, न खानेपानी, न शौचालय । यही अवस्थामा पनि यस बिद्यालय सञ्चालन हुदैँ आएको छ ।

कक्षा ५ सम्म सञ्चालित यस बिद्यालयमा जम्मा २३ जना बिद्यार्थी भर्ना भएका छन् । गत शैक्षिक सत्रमा ५७ जना बिद्यार्थी भर्ना भएकोमा यस बर्षको हाल सम्म भने जम्मा २३ जना बिद्यार्थी मात्रै भर्ना भएका छन् । कक्षा १ मा ४ जना बिद्यार्थी छन् । कक्षा २ मा ५ जना, कक्षा ३ मा ३ जना, कक्षा ४ मा ३ जना र कक्षा ५ मा ८ जना बिद्यार्थी छन् ।

यस बिद्यालयमा बिद्यार्थीको संख्या अत्यन्तै न्यून छ नै, यहाँ शिक्षकको संख्या पनि न्युन छ । यस बिद्यालयमा एक जना पनि स्थायी शिक्षक छैनन् । दुई जना राहत शिक्षक र एक जना बालविकास शिक्षकका भरमा यस बिद्यालय सञ्चालन भैरहेको छ । बिद्यालय सुधारका लागि सरकारी लगानी न्यून हुनु र अभिभावकहरुको वेवास्ताका कारण अहिले थप समस्या भएको केही नागरिक बताउँछन् ।

‘म चार कक्षामा पढ्छु, हाम्रो कक्षामा तीन जना छौँ, आज स्कुलमा कोही आएका छैनन्, म मात्रै आएको छु’ कक्षा चारमा अध्ययनरत एक बिद्यार्थीले भन्नुभयो ‘गाउँभरीका सबै बोर्डिङमा जान्छन्, यो स्कुलमा त सर र बिद्यार्थी थोरै छम्, बस्ने ठाउँ राम्रो छैन्, पानी नि छैन्, शौचालयमा पानी हुदैँन् ।’ ‘मेरा साथीहरु बोर्डिङमा पढ्छन्, मलाई त बुवाआमाले स्कुलमा नै पढ भनेर यही नाम लेखाइ दिनुभएको हो’ उहाँले थप्नुभयो ।

विगतका बर्षहरुमा यस बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुको संख्या धेरै भएपनि पछिल्लो समय भने ह्वात्तै घटेको शिक्षकहरु बताउँछन् । ‘शुरुका बर्षहरुमा बिद्यार्थीहरुको संख्या राम्रो थियो । तर अहिले घट्दै गएको छ, यसको मुख्य कारण भनेकै न्युन जनशक्ति र जीर्ण संरचनाकै कारण हुनसक्छ’ बिद्यालयका प्रधानाध्यापक तेज बहादुर कवरले भन्नुभयो ।

जीर्ण संरचना र दरवन्दी अभावका कारण बिद्यार्थीहरुलाई आकृर्षित गर्न नसकेको उहाँको भनाइ छ । ‘बिद्यालय भवन जीर्ण छ, भित्ताहरु चर्किएका छन्, बसाई व्यवस्थापन राम्रो छैन्, बिद्यालयमा खानेपानी छैन्, शौचालय अपुरो छ, त्यही पनि पानी नहुदाँ प्रयोग गर्न सकिएको छैन्’ उहाँले भन्नुभयो ‘जसले पनि आफ्नो छोराछोरीलाई असल बनाउन खोज्ने हो, जसकै कारण अभिभावकहरु पनि बिद्यालय सुधारमा ध्यान नदिएर महंगो शुल्क तिरेर बोर्डिङमा छोराछोरी बढाउँछन् ।’

अभिभावक र सरकारी पक्षले बिद्यालय सुधारका लागि केही गर्न नसकेको उहाँले गुणासो गर्नुभयो । ‘बिद्यालयमा आवश्यक पर्ने आधारभूत संरचना नै छैनन्, जसले गर्दा आफ्ना छोराछोरीलाई यहाँ पढाउन कोही मान्दैनन्, बर्षेनी बिद्यार्थीहरुको संख्या घट्दै गएको छ’ प्रधानाध्यापक कवरले भन्नुभयो ‘एकल प्रयासले मात्रै सार्थकता नपाउने रहिछ ।’

स्थानिय अभिभावकहरुले भने बिद्यालयमा शिक्षकहरुको दरबन्दी थप गर्ने, भौतिक संरचनामा सुधार गर्ने, बिद्यालय घेरवार गर्ने, पिउने पानी, र शौचालयको व्यवस्थापन गर्ने, शैक्षिक गुणस्तर सुधारमा केन्द्रित भएर लागेमा मात्रै बिद्यालयमा बिद्यार्थीहरुलाई टिकाउन सकिने बताएका छन् । यसका लागि राज्यले लगानी गर्नुपर्ने र शिक्षक, बिद्यार्थी र अभिभावकहरुका बिचमा त्रिपक्षिय सहकार्य गरेर अगाडी बढ्नुपर्ने उनीहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित