गाउँमै दूग्ध चिस्यान केन्द्र

उत्पादन भएको दूध बिक्रीका लागि समस्या छैन् : किसान

सल्यान २४, जेठ ।
सल्यानको दार्मा गाउँपालिका ५ निवासी बुदि केसीले व्यवसायिक रुपमा ७ वटा भैँसीपालन गर्दै आउनुभएको छ । उहाँसँग अहिले २ वटा दुहुना, २ वटा ब्याउने सहित ७ वटा भैँसी छन् । विगतमा श्रीमान भारतमा मजदुरी गर्दै आएकोमा अहिले भने उहाँको सपरिवार नै भैँसीपालनमा व्यस्त छ । उहाँहरुले अहिले दैनिक रुपमा करिब २० लिटर दूध डेरीमा पठाउनुहुन्छ ।

‘पहिला घरमा एउटा मात्रै भैँसी थियो, त्यही भैँसीको दूध पनि बिक्री हुन्थेन, दही बनाउनुपथ्र्यो, दही बिक्री नहुँदा घ्यू बनाउनुपथ्र्यो, घ्यू पनि बिक्री गर्न निकै समस्या थियो’ केसीले भन्नुहुन्छ ‘अहिले दूध नै बिक्री हुन्छ, दैनिक १ हजार २ सय आम्दानी हुन्छ, जिल्ला पशु अस्पतालले थप भैँसी उपलव्ध गराएको छ, यसले झन् व्यवसाय गर्न सहज भएको छ ।’

सोही ठाँउका गलविर खत्री सँग अहिले सानाठुला गरेर ८ वटा भैँसी छन् । दुहुना भैँसी मात्रै ३ वटा छन् । ‘आम्दानीको स्रोत भैँसीपालन भएको छ, पहिले अरुको काम गर्न जानुपथ्र्यो, अहिले त निकै सजिलो भएको छ, दूध जति पनि बिक्री हुन्छ, सुख्खा मौसमले गर्दा दूध केही मात्रामा घटेको छ, तैपनि दैनिक १ हजार ५ सय आम्दानी भैरहेको छ’ उहाँले भन्नुभयो ।

उहाँले दूध संकलनका लागि गाउँमा नै दूध संकलन केन्द्र स्थापना भएकाले पनि सहज भएको बताउनुभयो । ‘गाउँघरमा अन्य पेशाव्यवसाय गर्न गाह्रो छ, भैँसीपालन त पुर्खाहरुले पनि गर्दै आएका थिए, तर अहिले हामीले व्यवसायिक बनाएका मात्र हौँ’ उहाँले भन्नुभयो ‘जीवननिर्वाह गर्नका लागि कुनै समस्या छैन् ।’ पशु कार्यालयले व्यवसायिक भैँसीपालन गर्ने किसानहरुले प्रोत्साहित गरेपछि थप सजिलो भएको उहाँको भनाइ छ ।

यसठाँउमा व्यवसायिक रुपमा दूध उत्पादन हुन थालेपछि पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानको आर्थिक सहयोगमा ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले दूग्ध चिस्यान केन्द्र स्थापना गरेको छ । पशु सेवा कार्यालयको ५० लाख र संस्थाको ३८ लाख ७१ हजार गरेर कुल ८८ लाख ७१ हजारमा चिस्यान केन्द्र स्थापना गरिएको संस्थाका प्रवन्धक सुरेन्द्र प्रकाश केसीले जानकारी दिनुभयो ।

यसबाट यहाँका १ हजार ४ सय २० घरधुरी लाभान्वित भएका छन् । अहिले यस क्षेत्रबाट दैनिक करिब ४ सय लिटर दूध संकलन भैरहेको छ । ‘बर्खामा करिब १२ सय लिटर दूध दैनिक रुपमा संकलन हुन्छ, तर अहिले सुख्खा मौसम भएकाले उत्पादनमा केही कमी आएको छ’ प्रवन्धक केसीले भन्नुभयो ‘किसानको सहजताको लागि ११ वटा स्थानमा दूध संकलन केन्द्र स्थापना गरेका छौँ, त्यहाँबाट गाडीले चिस्यान केन्द्रसम्म दूध लिएर आउँछ ।’

उहाँले यस क्षेत्रका ११ जना किसानले व्यवसायिक रुपमा नै भैसीपालन गर्दै आएको बताउनुभयो । ‘यसक्षेत्र भैँसीपालनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो, किसानहरुले व्यवसायिक भैँसीपालन गर्दै आएका छन्, हामीले किसानबाट संकलन गरेको दूध चिस्यान केन्द्रमा जम्मा गरेर दैनिक रुपमा जीवन डेरी उद्योग बागचौरमा पठाउँछौँ’ उहाँले भन्नुभयो ‘त्यहाँबाट पनि दूध श्रीनगर, खलंगा हुदैँ सुर्खेतसम्म निर्यात भैरहेको छ ।’

उहाँले भैँसीपालन व्यवसायलाई थप व्यवस्थित गर्दै दूध उत्पादनमा बृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो । यस सहकारीले किसानहरुलाई कृषि तथा पशुपालनमा आकृर्षित गर्न ९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस