स्थानियको भान्सामै पस्छ धुलो र हिलो

कोइला–कपुरकोट–तुल्सिपुर सडकमा ट्रिप्परको वितण्डा

सल्यान २५, जेठ ।
सल्यानको कपुरकोट गाउँपालिका–५ खाली निवासी सुशिला बिकको घर सडकको छेउमै छ । घरको छेउमा नै सडक भएपछि उहाँलाई आउजाउ गर्न निकै सजिलो हुने आस थियो । तर आजभोली घरको छेउमा सडक हुनुभन्दा नभएकै भए राम्रो हुने उहाँको भनाइ छ । यसको मुख्य कारण हो कोइला–कपुरकोट–तुल्सिपुर सडकमा चल्ने ट्रिप्परले मच्चाएको आतंक ।

‘नत दिनमा घरछेउमा बसेर काम गर्न मिल्छ, नत रातभर आनन्दले सुत्न मिल्छ, यस सडक भएर ओहोरदोहोर गर्ने ट्रिप्परका कारण हामी आजित भैसकेको छौँ’ उहाँले भन्नुभयो ‘कोलाहल त्यस्तै छ, ट्रिप्परको गति तिव्र हुन्छ, अझ ट्रिप्परकै कारण सडक जीर्ण हुन्छ, सडकको धुलो र हिलोले निकै समस्या बनाएको छ ।’ यस सडकमा हिड्ने ट्रिप्परले उडाएको धुलो र हिलोले भान्सामा बसेर खाना खान समेत नपाइने गरेको उहाँले बताउनुभयो ।

‘बिहान धोएर सुकाएको कपडा साँझ सम्म फेरी धुने भैसकेको हुन्छ, भान्सामै धुलो र हिलो पुग्छ, कति पटक त त्यही धुलो मिसिएको खाना समेत खाएका छौँ, एकदिन भए पो, ८/१० बर्षदेखीको ट्रिप्पर आतंक जस्ताको त्यस्तै छ’ उहाँले फेरी थप्नुभयो ‘सडकको छेउछाउमा खतीपाती हुनै छोड्यो, ट्रिप्परकै कम्पनले घरहरु जाखिममा छन्, धुलोकै कारण मान्छेको स्वास्थ्यमा पनि असर परिरहेको छ ।’

अर्का स्थानिय खिम बहादुर खड्काले ट्रिप्परकै कारण सडक पार गर्न समेत समस्या भएको बताउनुभयो । ‘ट्रिप्परको गति तिव्र हुन्छ, ओभर लोड हुन्छ, ट्रिप्परकै कारण सडकमा ठुलाठुला खाल्डाखुल्डी परेका छन्, बर्खामा हिलो र आजभोली धुलोले सडक पार गर्न नै समस्या भएको छ’ उहाँले भन्नुभयो ‘यसबाट बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् ।’

उहाँले यस सडकमा भएर पैदल यात्रा गर्न समेत समस्या भएको बताउनुभयो । ‘यस सडकबाट भएर आउजाउ गर्न सकिदैन्, बजार जान समेत समस्या छ, बिद्यालय जाने वालवालिका त्यस्तै प्रभावित छन्, अहिलेकै अवस्थामा ट्रिप्पर चलाउनु राम्रो हुदैन्’ उहाँले भन्नुभयो ‘ट्रिप्पर चलाउन सधैँ रोक्नुपर्छ भन्ने होइन्, तर सडकको अवस्था सुधार नगरेरै ट्रिप्पर चलाउनु राम्रो होइन्, यसको विरोधमा नागरिक उत्रिसकेका छन् ।’

रोल्पा सिमेन्ट प्रालि सँगै अन्य ढुंगाखानीमा चल्ने अत्यधिक भार वहन गरेका ट्रिप्परका कारण नागरिकको स्वास्थ्य र दैनिक जीवनमा प्रतिकुल प्रभाव परेको स्थानियको भनाइ छ । ट्रिप्परको कारण यस पालिकाको वडा नं. १, २, ३ र ५ का नागरिकको स्वास्थ्य तथा दैनिक जीवनमा प्रतिकुल असर गरेको जनाइएको छ ।

यता जेठ १८ गते बुधवार बसेको गाउँ कार्यपालिकाको ७१ औं बैठकले जब सम्म सिमेन्ट प्रालिबाट सडक मर्मत र धुलो नियन्त्रणमा प्रभावकारी काम हुदैन र सिमेन्ट उद्योगबाट चुन ढुँगाको निर्यात गर्न पाउने अनुमतिको प्रमाण सहित जानकारी गाउँपालिकालाई प्राप्त हुदैन त्यतिबेला सम्मको लागि उक्त सडक खण्डमा ट्रिप्पर सञ्चालन कार्य बन्द गराउने निर्णय गरेको थियो ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले हिउँदमा धुलो र वर्षायाममा ठूला ठूला खाडल सहित हिलोको कारण स्थानीय र यात्रुले हैरानी व्यहोर्नुपरेको र नागरिकस्तरबाट व्यापक जनगुनासो आएकाले बाध्य भएर गाउँपालिकाले ट्रिप्पर सञ्चालनमा रोक लगाउनुपरेको बताउनुभएको छ । उता रोल्पा सिमेन्ट प्रालिले भने सडक सुधारका लागि आवश्यक पहल गर्ने तर उद्योग नै कठिन अवस्थामा सञ्चालन भइरहेकाले ठूलो योगदान गर्न समस्या रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस