कपुरकोटमा तरकारीको हाट वजार शुरु

सल्यान ३१, जेठ ।

सल्यानको कपुरकोटमा तरकारीको हाट वजार शुरु भएको छ । हप्तामा दुइ दिन लाग्ने गरी मंगलवारबाट हाट वजार शुरु भएको कृषि उपज बजार सञ्चालन समिति कपुरकोटले जनाएको छ । विक्रिका लागि तरकारी तयार भएपछि सल्यानमै सबैभन्दा ठूलो कपुरकोटको तरकारी बजार हप्ताको दुई दिन मंगलवार र शुक्रवार हाट बजार लाग्न शुरु भएको तरकारी बजार केन्द्रले जनाएको छ ।

बेमौसमी तरकारी खेतीका लागि कपुरकोट क्षेत्र प्रसिद्ध मानिन्छ । विशेष गरेर वर्षायाममा तरकारी खेती हुने कपुरकोटमा यो वर्षको सिजन शुरु भएको जनाइएको छ । बिशेषगरी सिमी, बोडी, करेला, भान्टा, लौका, बन्दागोभि, भेडेखुर्सानी, पिरो खुर्सानी लगाएतका तरकारीको सिजन शुरु भएको बजार सञ्चालन समितीका सचिव तिलक शर्माले जानकारी दिनुभयो ।

‘यो क्षेत्र बेमौषमी तरकारीका लागि प्रख्यात क्षेत्र हो, यस सिजनको तरकारी उत्पादन शुरु भैरहेको छ, मंगलवार देखी हाट वजार सञ्चालन हुन्छ, कृषकहरुले सोही अनुसार आफुले उत्पादन गरेको तरकारी बिक्री गर्छन्’ उहाँले भन्नुभयो ‘माग र आपुर्तीका आधारमा तरकारीको मुल्य निर्धारण हुन्छ ।’ उहाँले कृषकहरुले उत्पादन गरेको तरकारी बिक्रीमा कुनै समस्या नहुने बताउनुभयो ।

कपुरकोट गाउँपालिकाको विभिन्न वडामा ३० भन्दा बढी सहायक तरकारी बजार लाग्ने गर्दछ । तरकारी खरिदका लागि नारायगढ, बुटवल, नेपालगञ्ज, धनगडी, दाङ लगायतका वजारबाट ब्यापारी कपुरकोटमा आउने गर्दछन् । बेमौषमि तरकारी उत्पादनमा कृषकको आकृर्षण बढेको भएपनि मल नपाइनु, तरकारीमा रोग किराको प्रकोप देखिनु जस्ता कारणले सोचे अनुसारको उत्पादनमा बृद्धि हुन नसकेको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस