सल्यान १, असार ।
सल्यानमा सुनौला एक हजार दिनका आमालाई कुखुरा वितरण गरिएको छ । मासु र अण्डाको प्रयोगबाट वालवालिकामा हुनसक्ने कुपोषण न्युनीकरणका लागि भन्दै कपुरकोट गाउँपालिकाले बुधबार सुनौलो एक हजार दिनभित्रका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो । न्यु हेम्पसायर र अष्ट्रोलोप जातको ४ सय १६ वटा कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा २०/२० जना आमालाई तथा वडा नं ५ र ६ मा २९/२९ जना आमालाई प्रतिव्यक्ति ३ वटा कुखुराको दरले कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखा प्रमुख अरुणा भण्डारीले जानकारी दिनुभयो । न्यु हेम्पसायरले वर्षमा २८० दिन र अष्ट्रोलोप कुखुराले वर्षमा २६० दिन अण्डा दिने उहाँको भनाई छ ।
गाउँपालिका भित्र रहेका आमाहरुको स्वास्थ्यमा सुधार ल्याउन र बच्चामा हुने कुपोषणको कुचक्रलाई तोड्न तथा पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका १ सय ६५ जना सुनौला हजार दिनका आमाहरूलाई हेम सायर जातको कुखुरा वितरण गरिएको गाउँपालिकाको भनाइ छ । गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई अन्य समयको तुलनामा पोषणको बढी आवश्यकता पर्छ ।
यस समयमा पोषण सुधारमा ध्यान दिन सकिएन भने महिलालाई जटित समस्या आउन सक्ने अवस्थालाई ध्यान राखी कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा वहादुर पुनले बताउनुभयो । ‘गाउँघरमा अझै पनि गर्भवती तथा सुत्केरी महिला पोषणयुक्त खानेकुरा खान नपाइरहेको अवस्थामा छ, जसका कारण गाउँघरमा कुपोषणको मात्रा पनि बढी रहेको छ’ उहाँले भन्नुभयो ‘गाउँपालिकाका ६ वटै वडाहरुमा कुपोषणको मात्रा घटाई पोषणमा सुधार ल्याउनु यसको मुख्य उद्देश्य रहेको छ ।’