आसाले गरेका कामको स्थलगत अनुगमण

सल्यान २, असार ।

पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) ले सल्यानमा गरेको कामहरुको स्थलगत अनुगमण गरिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ८ र ९ मा चालु आर्थिक बर्षमा सम्पन्न भएका कामहरुको अनुगमण गरिएको हो । जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार लगाएत सरोकारवालाहरुको संयुक्त सहभागितामा अनुगमण गरिएको छ ।

बागचौर नगरपालिका ८ का स्थानिय पुस्कर बुढाले आसा आयोजनाको आर्थिक सहयोगमा गाउँमा नै खानेपानी आएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले विगतमा गाउँमा खानेपानी नहुदाँ गाग्रीमा बोकेर जीवननिर्वाह गर्दै आएको भएपनि अहिले भने गाउँमा नै खानेपानी आएको बताउनुभयो । ‘पहिले त गर्मी लाग्न वित्तिकै खानेपानीका दुख हुन्थे, नजिक भएका पानीका मुहान पनि सुकेर जान्थे’ उहाँले भन्नुभयो ‘अहिले घरमा नै खानेपानीको धारा छ, पानी पिउन, सरसफाई गर्न निकै सजिलो भएको छ ।’

जुगेखोला बाहुने खोला खानेपानी निर्माण समितीका अध्यक्ष डम्बर चन्दले आसाको ५ लाख ९६ हजार ६ सय ६९ र समुदायको १ लाख ४९ हजार १ सय ६७ गरी कुल ७ लाख ४५ हजार ८ सय ३६ रुपैँयामा यस योजना सम्पन्न भएको बताउनुभयो । जसबाट यहाँका २२ घरधुरी लाभान्वित भएको उहाँको भनाइ छ ।

यस्तै आसाकै सहयोगमा सोही ठाउँमा २ सय ५० मिटर सिँचाइ कुलो निर्माण गरिएको छ । आसाको ६ लाख ६१ हजार र समुदायको २ लाख १३ हजार गरी कुल ८ लाख २६ हजारमा सिँचाइ कुलो निर्माण गरिएको हो । यसबाट २१ घुरधुरीको करिब एक सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । स्थानिय जीवनी डाँगीले सिँचाई कुलो निर्माण भएपछि यसबर्ष समयमा नै खेतमा धान रोपिसकेको बताउनुभयो । विगतमा कच्ची कुलो हुदाँ सिँचाइ गर्न समस्या भएपनि यसपटक भने खोलाको पानी चुहावट विना नै खेतमा पुग्ने गरेको उहाँको भनाइ छ ।

बागचौर नगरपालिका ९ मा रहेको पाखापानी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष विर बहादुर गिरीले २६ दशमलव २ हेक्टर क्षेत्रफल भएको यस वनलाई आसा आयोजनाको सहयोगमा बनलाई चार भागमा विभाजन गरेर नमुना प्लट निर्माण गरिएको बताउनुभयो । उहाँले मेल र चोथ्राले भरिएको कुकाठवाला जंगललाई हराभरा बनाएको र चौडापाते विरुवामा जोड दिदैँ वनको गोडमेल, अग्निरेखा निर्माण लगाएतका कार्य गरिएको बताउनुभयो । यस वनमा १ सय ६५ घरधुरी उपभोक्ता रहेका छन् ।

निरिक्षणमा बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, आसा आयोजनाका जिल्ला आयोजना प्रमुख नैन बहादुर तामाङ, जिल्ला समन्वय समिति सदस्य बिन्दु पुन, बागचौर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुशीलजंग चन्द, वडा नम्बर ९ का वडा अध्यक्ष यज्ञ बहादुर डाँगी लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस