खडेरीले सुक्नथाले मकै

मकैँ, धानको बेर्ना र तरकारी सुक्न थालेपछि किसान चिन्तित

सल्यान ८, असार ।
लामो खडेरीका कारण सल्यानका किसानले लगाएको बाली सुक्न थालेको छ । मुख्य खाद्य बाली मकैँ, धानको बेर्ना र तरकारी सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । विगत लामो समय देखी पानी नपरेका कारण खेतवारीमा रोपेको बाली सुक्न थालेको किसानहरुको गुणासो छ । जिल्लाको पुर्वी तथा उत्तरी भेगमा हल्का पानी परेपनि अधिकांश भागमा पानी नपर्दा गर्मी ह्वात्तै बढेको र खेतवारीमा लगाएको बाली सुक्न थालेको किसानहरुको भनाइ छ ।

बाली मात्र नभएर खेतबारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, फर्सी, कोक्रा, सिमीबोडी लगायतका बाली घामबाट जोगाउन मुस्किल हुन थालेको छ । समयमै वर्षा नहुँदा खडेरीले धानको बेर्ना समेत सुक्न थालेपछि किसानलाई रोपाइ गर्न सास्ती हुने अवस्था सृजना भएको छ । सिँचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेको भएपनि सिँचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा बसेका छन् ।

मकैँको गोडमेल गर्ने र धान रोपाईको सिजनमा बर्षात नहुदाँ खडरीकै कारण उत्पादन घट्ने चिन्ता थपिएको बन्गाड कुपिण्डे नगरपालिकाका नविन पुनले बताउनुभयो । ‘बैशाख महिनाको अन्त्य तथा जेठ महिनाको पहिलो साता रोपेको मकैँ अहिले गोडमेल गर्ने बेला हुदाँ समेत पानी नपर्दा सुकेको छ, कतिपयले मकैँको बोट नै सुक्ने डरले गोडमेल नै गर्न छोडिसके’ उहाँले भन्नुभयो ‘रातमा मकैँको बोटले केही राहत पाएको जस्तो देखिएपनि दिनभरको घामले सुकेर बोट नै सखाप हुन लागेका छन् ।’

उहाँले मकैँसँगै रोपेका सिमी, बोडी, भटमास, बदाम लगाएतका बालीहरु पनि सुक्न थालेको बताउनुभयो । ‘सिँचाई सुविधा नभएका पाखो जमिनमा उत्पादन हुने भनेकै मकैँ हो, हिउँदमा राम्रोसँग गहुँ उत्पादन भएन, बर्खेवाली मकैँ पनि सुक्न थालिसकेको छ’ उहाँले फेरी थप्नुभयो ‘यसबर्ष उत्पादन कम हुने भयो, पहिल्यै त छ महिनामात्रै खान पुग्थ्यो, अव त झन् त्यहीपनि नपुग्ने भयो ।’

छत्रेश्वरी गाउँपालिकाका गणेश नेपालीले खडेरीकै कारण खेतमा राखेको धानको बेर्ना सुक्न थालेको बताउनुभयो । ‘धानको रोपाई गर्ने बेला भैसक्यो, पानी पर्ला र बेलैमा खेती लगाएर कमाउन बाहिर जाउला भन्ने सोचेको थिए, तर असारको पहिलो साता वितिसक्यो, पानी पर्ने छाँट छैन्, धानको बेर्ना सुक्न थाल्यो, खोलामा पानी छैन्’ उहाँले भन्नुभयो ‘यहि अवस्था हो भने बेलैमा रोपाइ हुने यहाँका खेतमा साउन नलाग्दा सम्म रोपाई हुदैँन होला ।’

उहाँले गाउँघरमा खोलाका मुहान तिर खेत भएका केहीले रोपाई गरेपनि पानी नपर्दा रोपेको धानको बेर्ना समेत सुक्न थालेको बताउनुभयो । खडेरीले बाली सुक्नथालेपछि खेतीपातीमा जीवन निर्वाह गर्ने किसान समस्यामा परेको उहाँको भनाइ छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर करिब ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदैँ आएको छ । यस्तै करिब १९ हजार हेक्टर क्षेत्रफलमा मकैँ, ६ सय बढी हेक्टर क्षेत्रफलमा कोदो खेती हुदैँ आएको छ । समयमा नै पानी नपर्दा यसबर्ष जिल्लामा खाद्यान्न उत्पादनमा कमी हुनसक्ने  जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस