नेकपा एकीकृत समाजवादी सल्यानद्धारा पार्टी विरुद्ध गतिविधि गर्ने ९ जनालाई कारवाही

सल्यान ९, असार ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले पार्टी बिरुद्ध गतिविधि गर्ने ९ जनालाई कारवाही गरेको छ । जिल्लाको समदरमुकाम खलंगामा सम्पन्न जिल्ला कमिटीको तेस्रो पुर्ण बैठकले पार्टीको हित विपरितका कार्य गर्ने जिल्ला कमिटीका एक पदाधिकारी सहित ९ जना जिल्ला कमिटी सदस्यहरुलाई कारवाही गर्दै पदमुक्त गरेको हो ।

यस्तै पार्टीको जिल्ला कमिटी सदस्यमा रहेका तर पछिल्लो समय निस्क्रिय रहेका ४ जना जिल्ला कमिटी सदस्यहरुलाई पनि हटाइएको छ । यस्तै जिल्ला कमिटी सदस्यमा १८ जनालाई मनोनित गरिएको छ । युवा तथा बिद्यार्थी राजनितिमा संक्रिय रहेका १८ जनालाई जिल्ला कमिटीमा मनोनित गरिएको पार्टीका जिल्ला अध्यक्ष हरि केसीले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको तर्फबाट स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मान, निर्वाचन समिक्षा, निर्वाचनको प्रभाव, सकारात्मक र नकारात्मक पक्ष, जिल्लामा गठबन्धनको अवस्था लगाएतका बिषयमा समिक्षा गरिएको थियो । यस्तै जिल्लाका दश वटै पालिकामा तत्कालै बैठक बसी आगामी आवश्यक योजना बनाइ असार मसान्तसम्म जिल्लाका सबै वडाहरुमा बैठक बसीसक्ने र श्रावण भित्र टोल कमिटी बिस्तार गरिसक्ने निर्णय गरिएको पार्टी सचिव रमेश कुमार गौतमले जानकारी दिनुभयो ।

 

जसअनुसार कालिमाटी गाउँपालिका र त्रिबेणी गाउँपालिकामा असार १२ गते, सिद्ध कुमाख गाउँपालिकामा असार १३ गते, शारदा नगरपालिकामा असार १५ गते, कपुरकोट गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा असार १६ गते पालिका कमिटीका बैठक बस्ने तय भएको छ । यस्तै बागचौर नगरपालिकामा असार १७ गते, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकामा असार १८ तथा बन्गाड कुपिण्डे नगरपालिकामा असार १९ गते बैठक बस्ने तय भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष हरि केसीको अध्यक्ष एवम् पार्टी उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा भएको वैठकले पार्टी सदस्यता नविकरण र ब्यबस्थापन गर्ने, जनबर्गिय संगठनलाई सक्रियतापूर्वक परिचालन गर्ने, प्रचारात्मक कामलाई ब्यबस्थित गर्ने र तत्काल पेट्रोलियम पदार्थको मुल्य घटाउन र रासायनिक मल वीउको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस