कपुरकोट गाउँपालिकाको नीति तथा कार्यक्रम : एकिकृत कृषि विकास कार्यक्रम लागू हुने

सल्यान ९, असार ।
सल्यानको कपुरकोट गाउँपालिकाको ११ औं गाउँसभाले सर्वसम्मत रुपमा आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम पारित गरेको छ । विहिबार बसेको सभामा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

कपुरकोट गाउँपालिकाले नीति कार्यक्रम मार्फत तरकारी खेती, पशुपंक्षीपालन तथा बागबानीको समग्र विकासका लागि जोड दिएको छ । जसका लागि एकिकृत कृषि विकास कार्यक्रम लागू गर्ने उल्लेख छ । हरेक किसानलाई समूह तथा सहकारीमा आवद्ध गर्ने र कृषीक्षेत्रको उत्पादनको आधारमा अनुदान दिने नीति कपुरकोट गाउँपालिकाको रहेको छ ।

एघारौँ गाउँसभाको पहिलो बैठकमा अध्यक्ष पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विवकास संगै स्वास्थ्य, शिक्षा, उद्योग, सहकारी, पर्यटन, खानेपानी, सिंचाई, सरसफाई तथा बजार अनुगमनलाई प्राथमिकतामा राखिएको छ । यस्तै युवा तथा खेलकुद,लैंगिक समानता तथा सामाजिक समावेशीकरण, वन तथा वातावरण व्यवस्थापन, उर्जा, संचार, सूचना प्रविधिको क्षेत्रमा विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

गाउँपालिकाले अर्गानीक तरकारी खेतीका लागि अनुदान दिने नीति ल्याएको छ भने व्यवसायीक कृषी विषयलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा सार्वजनिक सेवालाई प्रभावकारी वनाउन, कला संस्कृती संरक्षण गर्न र न्याय, शान्ति सुरक्षा तथा सार्वजनिक सम्पत्ति संरक्षणका पनि जोड दिइएकोे छ । दक्ष तथा सक्षम जनशक्तिको विकास गरी आन्तरिक रोजगारी प्रवर्धन गर्न विभिन्न योजना सञ्चालन गरिने उल्लेख छ ।

राय सुझाव संकलन कार्यक्रमबाट आएका सुझाव तथा बौद्धिक वर्ग, गाउँसभाका सदस्यहरु,विभिन्न राजनीतिक दल, संघ संस्था लगाएतबाट प्राप्त रचनात्मक राय सुझावलाई समेत ध्यानमा राखेर नीिित कार्यक्रम तयार गरिएको अध्यक्ष पुनले बताउनुभयो । गाउँसभाको दोश्रो बैठक शुुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस