सबै नागरिकलाई कोरोना बिरुद्धको खोपको पहुँचमा ल्याउनुपर्नेमा जोड

सल्यान १४, असार ।
कोरोना भाइरस बिरुद्धको खोपको पहुँचमा सबै नागरिकलाई ल्याउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । कोरोना भाइरस संक्रमितको संख्या कम हुदैँ गएको भएपनि यसको जोखिम कायम रहेकाले जिल्लामा रहेका सरकारले तोके बमोजिमका उमेर समुहका सबैलाई खोपको पहुँचमा ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

सल्यानको खलंगामा मंगलवार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानद्धारा सञ्चालित कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत सरोकारवालाहरुसंग समन्वय बैठकमा बोल्ने सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले खोपको पहुँच बाहिर रहेकालाई खोपको पहुँचमा ल्याउनुपर्ने र पहिलो तथा दोस्रो मात्रा लगाएकालाई बुस्टर मात्राका लागि पहल गर्नुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जिल्लामा कोरोना भाइरस बिरुद्धको खोप प्रशस्त मात्रामा रहेकाले खोपबाट छुटेका सबैलाई खोपको पहुँचमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले अब जिल्लामा खोपको पहिलो मात्रा नभइ पुर्ण खोपको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका मन्त्री किशोर कुमार हमालले हरेक नागरिकलाई कोरोना भाइरस बिरुद्धको खोपको पहँचमा पु¥याउने लक्ष्यका सचेतनामुलक अभियान सञ्चालन गरिएको बताउनुभयो । कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम जिल्लाको शारदा नगरपालिका र कुमाख गाउँपालिकाका २३ वटा वडाहरुमा सञ्चालन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका उपमन्त्री कल्पना सेजवालको अध्यक्षतामा भएको बैठकको सहजीकरण कार्यक्रम फोकल प्रसन करुणा बस्नेतले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस