सल्यान १९, असार ।
सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान तीव्र रूपमा भइरहेको छ । १५ शैयाको जिल्ला अस्पतालमा दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको चरम अभाव भएको थियो । अस्पतालले अब दैनिक ४० सिलिन्डर अक्सिजन भर्न सकिने प्लान्ट जडान गरिहेको छ ।
कोरोना महामारीको दोस्रो लहरमा अक्सिजन अभावकै कारण यहाँ पनि धेरैले ज्यान गुमाएका थिए । सरकारले अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक बर्षमा ७५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । सोही रकम पाएपछि अक्सिजन प्लान्ट जडानको काम भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘नेपाल सरकारले अस्पताललाई प्लाट जडान गर्न ७५ लाख रुपैँया दिएको थियो, त्यसबाट जडानको काम अन्तिममा पुगेको छ ।’ संघिय सरकारको रु. ७५ लाख वजेटमध्ये टेण्डर मार्फत रु. ७१ लाख रुपैँयामा मुद्रक इन्टरनेशनल प्रालिले जडानको ठेक्का पाएको थियो । सोही अनुसार अहिले अक्सिजन प्लान्ट जडानको कार्य भैरहेको छ ।
यसअघि जिल्लामा अक्सिजन प्लान्ट नुहदाँ खाली सिलिन्डर रिफिल गर्नको लागि दाङ, नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । ‘जिल्लामा नै अक्सिजन प्लान्ट स्थापनाको लागि हामीले धेरै पहिले देखी नै पहल गर्दै आएका थियौँ, अहिले बल्ल सफल भएका छौँ, कोरोना भाइरसको संक्रमणदर उच्च भएको बेलामा जिल्लामा अक्सिजन प्लान्ट नहुदाँ धेरै नै समस्या भयो’ उहाँले भन्नुभयो ‘अव त्यो समस्या आउन नदिन हामी सजक छौँ ।’
उहाँले जिल्लामा नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेपछि सल्यानसँगै छिमेकी जिल्ला रोल्पा तथा रुकुमका नागरिकलाई समेत सहजता हुने बताउनुभयो । ‘नागरिकलाई जिल्लामा नै स्तरीय सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो, सोही अनुसार कामहरु पनि भैरहेका छन्, अव जिल्लामा अक्सिजन नपाएर कसैले पनि अकालमै ज्यान गुमाउनु पर्दैन्’ उहाँले भन्नुभयो ।
अक्सिजन प्लान्टमा दुईवटा पोर्ट रहेको छ । एउटा पोर्टबाट सीधै अस्पतालको बेड–बेडमा सप्लाई हुने र अर्काे पोर्टबाट सिलिन्डर भर्न मिल्ने श्रेष्ठले जानकारी दिनुभयो । हाल जडान भइरहेको अक्सिजन प्लान्टको क्षमता दैनिक ४० लिटर क्षमताका ४० सिलिन्डरभन्दा बढी रहेकोले सल्यान अस्पतालमा मात्रै नभई जिल्लाभरि नै अक्सिजन अभाव नहुने भएपछि यहाँका नागरिक हर्षित छन् ।