फार्म दर्ताको सिफारिस पत्र : वडासचिवले राजश्व बुझे, वडाअध्यक्षले हस्ताक्षर गरेनन्

file photo

सल्यान २१, असार ।
सल्यानको शारदा नगरपालिका भित्रको एक वडाले राजस्व बुझेर सिफारिस नदिएको पाइएको छ । शारदा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले पशुपालन फार्मको सिफारिसको लागि राजश्व शुल्क लिएर सिफारिस पत्रमा हस्ताक्षर नगरेको पाइएको हो । दिनदिनै वडा कार्यालय, नगरपालिका र वडाअध्यक्षको घरमा नै जादा समेत वडाअध्यक्षले फार्मदर्ताको सिफारिसमा हस्ताक्षर नगरेको स्थानियको भनाइ छ ।

केही दिन अघि शारदा नगरपालिका ६ का सात जना स्थानिय बाख्रापालन, बंगुरपालन र कुखुरापालन फार्म दर्ताको लागि सिफारिस ल्याउन वडा कार्यालय गएका थिए । तर वडा कार्यालयले भोली भोली भन्दै असार १९ गते आइतवार मात्रै फार्म दर्ताको लागि सिफारिस लेखिदियो । उनीहरुले फार्म दर्ता सिफारिस बाफतको राजश्व बुझाएर रसिद समेत बुझे ।

तर वडासचिव नरेन्द्र खड्काले लेखेको सिफारिस पत्र हातमा थमाएको तीन दिन हुदाँ समेत वडाअध्यक्षले हस्ताक्षर नगर्दा समस्या भएको उनीहरुले गुणासो गरेका छन् । यता नगरपालिकाको पशु सेवा शाखाले भने सिफारिस पत्र दिइसकेको छ । तर वडाअध्यक्षले भने हस्ताक्षर नगर्दा स्थानियहरु कहिले वडा कार्यालय, कहिले नगरपालिकाको कार्यालय त कहिले वडाअध्यक्षको घरमा जादैँमा तीन दिन वितेको छ ।

स्थानिय सुन्तली बादी बंगुर फार्म, यमकली दमाई बंगुर फार्म, टेकसरी विक बाख्रा फार्म, शुसिला विक बाख्रा फार्म, मिना दमाई बाख्रा फार्म, टिका नेपाली कुखुरा फार्म र देवीलाल विक कुखुरा फार्म दर्ताको लागि सिफारिस ल्याउन वडा कार्यालय जानुभएको थियो । आवश्यक कागजात तथा सबै प्रक्रिया पुरा गर्दापनि वडाअध्यक्षले फार्म दर्ताको सिफारिसमा हस्ताक्षर नगरेको सुन्तली वादीले बताउनुभयो ।

‘दिनदिनैँ धाएर वडा कार्यालयबाट सबै प्रक्रिया पुरा गरेका छौँ, वडासचिवले आवश्यक सबै कागजात तयार पारेपछि राजश्व तिरेर सिफारिस थमाइयो, तर वडाअध्यक्ष वडा कार्यालयमा जानुहुदैँन्, उहाँलाई खोज्दै घरमा जादाँ, नगरपालिकामा जाँदा कतै पनि उहाँले हस्ताक्षर गर्नुभएन’ उहाँले भन्नुभयो ‘हाम्रो कागजात नै हेर्न मान्नुहुदैन्, हामीलाई देख्न वित्तिकै भाग्नुहुन्छ ।’ उहाँले वडाअध्यक्षको हस्ताक्षरका लागि सिफारिस पत्र बोकेर वडाअध्यक्ष खोज्दै हिडेको तीन दिन हुदाँ समेत हस्ताक्षर नगरिदिएको गुणासो गर्नुभयो ।

अर्की स्थानिय यमकली दमाईले नगरपालिकाको पशु सेवा शाखाले  सिफारिस दिदा समेत वडाअध्यक्षले सिफारिस पत्रमा हस्ताक्षर नगरिदिएको बताउनुभयो । ‘यो कुरा लिएर मेयर सम्म पनि पुगेउँ, मेयरसावले म भन्दिन्छु तपाईहरु वडा अध्यक्ष कहाँ जानुहोस भन्नुभयो तर हामी वडाअध्यक्ष कहाँ जादा वडाअध्यक्षले मेयरसँग सल्लाह गर्छु भन्नुहन्छ उहाँले भन्नुभयो मेयरले वडाअध्यक्षलाई, वडाअध्यक्षले मेयरलाई सिकाउदाँ हामी सिफारिस लिनबाट बञ्चित भयौँ, फार्म दर्ता गर्न पाएका छैनौँ । अहिले पराम्परागत रुपमा पशुपालन गर्दै आएकाले व्यवसायिक पुशपालनका लागि फार्म दर्ता गर्न लागेको उनीहरुको भनाइ छ ।

गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा आफुलाई सहयोग नगरेका कारण वडाअध्यक्षले सिफारिस पत्रमा हस्ताक्षर नगरेको स्थानियको भनाइ छ । यता वडाअध्यक्ष भिकराज बुढाथोकीले भने नगरपालिकाले वनाएको कार्यविधि विपरित भएकाले सिफारिस पत्रमा हस्ताक्षर नगरेको बताउनुभयो ।

कुखुरा फार्म दर्ताको लागि ५ सय कुखुरा, बंगुर फार्म दर्ताको लागि माउ ५ वटा बंगुर र बाख्रा फार्म दर्ताको लागि २० वटा माउबाख्रा हुनुपर्ने भएकाले त्यस विपरितका फार्महरु दर्ताको लागि सिफारिस पत्रमा हस्ताक्षर नगर्ने उहाँको भनाइ छ । उहाँले अहिलेकै अवस्थामा फार्म दर्ताका लागि सिफारिस पत्रमा हस्ताक्षर नगर्ने र बरु स्थानियले बुझाएको राजश्व फिर्ता गरिदिने बताउनुभयो ।

शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालले भने किसानहरुको सहजताको लागि नगरपालिकाले सिमित मापदण्ड तोकेर फार्म दर्ताको व्यवस्था गरेको बताउनुभयो । फार्म दर्ताको लागि शुरुमा वडा कार्यालयले सिफारिस गर्ने र त्यसको आधारमा पशु सेवा शाखाले सिफारिस गर्नुपर्ने भएपनि पशु शाखाले समेत सिफारिस गरिसकेको खण्डमा वडाअध्यक्षले सिफारिस पत्रमा किन हस्ताक्षर नगरेको भन्ने बारेमा आफुले केही जानकारी नपाएको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस