नमुना बन्दै पशुपालन व्यवसाय : भैंसीलाई बत्ती र पंखा !

सल्यान २२, असार ।

सल्यानका कृषकहरुले प्रविधिको सदुपयोग गर्दै व्यावसायिक भैँसीपालनलाई नमूना बनाएका छन् ।

किसानहरुले दूध उत्पादनको लागि घाँस, दानापानीमात्रै होइन भैंसीगोठमा बत्ती र पंखा जडान गरेर सिजनअनुसारको स्याहारमा ध्यान दिन थालेका हुन । भैंसीपालन व्यावसायलाई व्यवस्थित र नमूना बनाउँदै उत्पादनमा बृद्धि गर्नको लागि भैंसीगोठमा बत्ती र पंखा जडान गरेको कृषकहरुको भनाइ छ । भैंसीपालनमा अलि झन्झट त छ तर उपयोगिता त्यसको कैयौं गुणा बढी रहेको किसानहरु बताउँछन् ।

शारदा नगरपालिका– १ पटनेरीका प्रकाश केसीले व्यावसायिक भैंसीपालन गर्दै आएको एक दशक भयो । २०६८ सालदेखि व्यवसाय शुरु गर्नु भएका केसीसँग अहिले भैंसी र जर्सी गाई गरेर १९ जीउ छन् । त्यसमध्ये ८ वटा भैंसी र एक वटा जर्सीगाई दुहुना छन् । उहाँले भैंसीगोठमा बत्ती र पंखा जडान गर्नुभएको छ । ‘भैंसीपालनलाई व्यावसायिक र नमूना बनाउँदै लगेको छु, भैंसीको गोठमा नै बत्ती र पंखा जडान गरेको छु, रातको समयमा घाँस खुवाउनका लागि र बिहानै भैंसी दुहुनका लागि बत्ती आवश्यक छ, बत्ती बालियो भने सर्पलगायतका केही पनि गोठमा जादैनन्’– उहाँले भन्नुभयो– ‘गर्मीयाममा शीतलता प्रदान गर्नको लागि पंखा जोडेको छु, चैत, बैशाख, जेठ, असार र भदौंमा पंखाले काम गर्छ, पंखाले शीतलता मात्र होइन, झिंगा बस्न समेत दिदैन ।’

उहाँले भैंसीलाई घाँस, दानापानीसँगै गोठ सफा सुग्घर र आरामदायी वसाई व्यवस्थापन गरेपछि दुध उत्पादनमा कमी नआउने बताउनुभयो । ‘भैंसीलाई समयानुकूल बस्ने वातावरण सिर्जना गर्नुपर्छ, त्यसो हुँदा भैसीले दूध घटाउँदैन्, आफ्नोभन्दा बढी स्याहार गरेको खण्डमा भैंसीबाट धेरै नै फाइदा लिन सकिन्छ’– उहाँले भन्नुभयो– ‘अहिले दैनिक ६५ लिटर दूध उत्पादन भैरहेको छ ।’ जेठ महिनामा मात्रै एक लाख ५२ हजार रुपैयाँको दूध बिक्री गरेको उहाँको भनाइ छ । १५ लाखमा जग्गा किनेर व्यवसाय सञ्चालन गरेका उहाँले २५ लाखबढी लगानी गरी सक्नुभएको छ । ३२ रोपनी जग्गा भाडामा लिएर घाँस खेती गरेको र पराल मात्रै किन्ने गरेको उहाँले बताउनुभयो । भैंसीपालन गर्न थालेदेखि दूधको माग थेक्न नसकेको उहाँको भनाइ छ ।

यस्तै पटनेरीमा ३० लाख रुपैयाँ लगानी गरेर भैंसीपालन गर्दै आएका मेघराज खड्का र ज्ञानबहादुर केसीसँग अहिले सानाठूला गरेर १७ वटा भैंसी छन् । तीमध्ये ७ वटा भैंसी दुुहुना छन् । साझेदारीमा भैंसीपालन गर्दै आउनुभएका उहाँहरुले दैनिक ५५ लिटरसम्म दूध उत्पादन गरी रहनुभएको छ । ‘यसलाई व्यावसायिक बनाउँदै भैंसीको संख्या थप्ने योजना छ’– खड्काले भन्नुभयो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार जिल्ला भर करिब ५० बढी कृषकहरुले व्यावसायिक रुपमा भैंसीपालन गर्दै आएका छन् । कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले जिल्लामा भैंसीपालन गर्नेको संख्या बढेसँगै जिल्ला दूधमा आत्मनिर्भर बन्न थालेको बताउनुभयो । जिल्लाको दार्मा गाउँपालिका, त्रिबेणी गाउँपालिका लगायतका बिभिन्न पालिकाहरुमा भैंसीपालनलाई व्यावसायिक बनाउँदै दूधमा आत्मनिर्भर बनाउनका लागि उन्नत जातका भैंसी वितरण लगायतका विभिन्न कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

उहाँले भैंसीको घाँस, दानापानी, गोठको उचित व्यवस्थापन, स्याहारलगायतका बिभिन्न पक्षमा ध्यान दिन सकिएमा दूध उत्पादनमा थप बृद्धि गर्न सकिने बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस